एनिमल नेपालको आयोजनामा पशु कल्याणमा पत्रकारहरुको भूमिका बिषयक अभिमुखिकरण
News Desk
Mar-23 , 2022 तारिख 04:59 बेलुका

 काठमाडौं, ०९ चैत्र । १९ मार्चमा मनाईने पोल्ट्री दिवसको सन्दर्भ पारेर एनिमल नेपालको आयोजनामा पशु कल्याणमा पत्रकारहरुको भूमिका बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा संस्थाकी अधिकारी सुलक्षणा राणाले एनिमल नेपालले पशु कल्याणका लागि कार्य गर्दै आएको जानकारी दिदै यस बिषयले संचार क्षेत्रमा कम प्राथमिकता पाउदै आएको उल्लेख गरिन । साथै राणाले एनिमल नेपालले ५ वटा प्रदेश स्थित विभिन्न जिल्लाहरुमा परियोजना संचालन गर्दै आएको तथा सम्पूर्ण प्रदेशमा पशु कल्याणका लागि हस्तक्षेपका कार्यहरु जारी राख्दै आएको जनाईन् ।

त्यसैगरि, एनिमल नेपालका कार्यकारी निर्दशक हरि प्रसाद जोशीले नेपालमा पशु कल्याणको वर्तमान अवस्था र विद्यमान कानुनी प्रावधानको बिषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपालमा पशु कल्याण ऐन बन्ने चरणमा रहेको जानकारी दिदै न्युन कानुनी प्रावधान र भएकाको पनि कार्यान्वयन हुन नसक्दा पशु कल्याणको क्षेत्रमा आशातित प्रगती हासिल गर्न कठिनाई रहेको बताए । मानिसलाई रोगी बनाउनमा ६० देखी ७० प्रतिशतसम्म पशु र पशुजन्य उत्पादन रहने गरेको हवाला दिदै उनले मानव स्वास्थ्यका लागि मानिससँगसँगै पशु र वातावरण पनि स्वच्छ रहनुपर्ने उनले उल्लेख समेत गरे । दैनिक सरोकारको बिषय भए पनि पशु कल्याणको सवाल गौण बन्नु दु:खद भएको भन्दै उनले सरकारले यस क्षेत्रमा बजेट बढाएमा जनावरबाट सर्ने रोगको रोकथाममा उल्लेख्य प्रगती हुने जनाए ।