मौलाउँदै पान खेती
News Desk
Mar-24 , 2022 तारिख 11:59 बिहान

काठमाडौँ — १० चैत्र २०७८   

काठमाडौँ , झापास्थित अर्जुनधारा–१० का एकनाथ शिवाकोटीको समूहले कालीस्थानमा पान खेती सुरु गरेको ३ वर्ष भयो । भारतको कोलकाताबाट ‘बंगाली जाजी’ जातको पानका बिरुवा ल्याएर उनीसहित ७ जनाले व्यावसायिक खेती गरिरहेका छन् । अहिले प्रतिदिन ३५ सय पात टिपिरहेको र यस्तो संख्या जेठ–असारमा १० हजारसम्म पुग्ने गरेको उनले जानकारी दिए । उनीहरूले ‘कालीस्थान कृषक समूह गठन’ गरी १० कट्ठा क्षेत्रफलमा पान खेती गरिरहेका छन् । ‘नेपालमा भारतबाट ठूलो मात्रामा पानको पात आयात हुन्छ,’ उनले भने, ‘आयात कम गर्न र स्वदेशमै पानको पात उत्पादन गर्ने लक्ष्यसहित सुरु गरेका हौं ।’ तर आफूहरूले उत्पादन गरेको पानको पातले झापाको बजार माग पनि धान्न नसकेको शिवाकोटीले बताए । ‘१० बिघा जग्गामा पान खेती गरी उत्पादन गर्न सक्यौं भने मात्र झापाको माग धान्न सकिन्छ,’ उनले सुनाए, ‘यसरी नि थाहा हुन्छ नेपालमा पानको खपत कति हुने रहेछ भनेर ।’ नेपालमा आयात हुनेमध्ये ८० प्रतिशत पानको पात ‘बंगाली जाजी’ जातको हुने उनको भनाइ छ । दमक, झापा, इलामलगायत जिल्लामा पानको पात पाइन्छ । कुनै ठाउँको पानको पात खान प्रयोग गरिन्छ, कतैको प्रयोग गरिँदैन । आफैंले खानका लागि रोप्ने गरे पनि व्यावसायिक खेती भने पहिलो पटक सुरु भएको उनको दाबी छ ।

नेपालका लागि भने पानको एक मात्र स्रोत भारत हो । भन्सार विभागको तथ्यांकले पनि भारतबाट मात्रै पानको पात आयात भइरहेको देखाउँछ । सुरुवातमा २५ हजार पानका बिरुवासहित भारतकै प्राविधिक ल्याएर शिवाकोटीको समूहले पानका बिरुवा रोप्न, मलजल गर्न सिकेको हो । अहिले उनीहरू र कामदारले आफैं मलजल गर्न सिकिसकेका छन् । पानको पातको खेती गर्दा सुरुवातमा धेरै खर्च, मिहिनेत गर्नुपर्ने तर आम्दानी नहुने समूहका सदस्य शिवाकोटीले बताए । ‘पानको बिरुवा जति वर्ष पुरानो भयो, उति नै खर्च कम हुन्छ । आम्दानी भने बढ्दै जान्छ,’ उनले भने, ‘पानको बिरुवा, ट्रस्ट बनाउन, मलजल र कामदार गरी अहिलेसम्म ३२ लाख रुपैयाँ खर्चियौं ।’ बिरुवा पुरानो हुँदै गएकाले अब भने वार्षिक ३ लाखसम्म बचत गर्न सकिने उनीहरू बताउँछन् । ‘जाडो मौसममा धेरै पात आउँदैन । त्यो मौसममा मूल्य पाउँछ,’ शिवाकोटीले भने, ‘जाडो मौसममा धेरै उत्पादन हुँदैन । तर एउटै पातको ५ रुपैयाँसम्म पाइन्छ ।’ सामान्य मौसममा एउटा पातको ३ रुपैयाँसम्म हुन्छ । ठूलो क्षेत्रफलमा पान खेती नगरिए पनि आउने पुस्ता र पान खेती गर्न चाहनेका लागि सिक्न–हेर्न उपयोगी हुने उनको भनाइ छ । बिरुवा लगाएको छ महिनाबाटै उत्पादन लिन सकिने पान खेती एक पटक लगाएपछि २५ वर्षसम्म आम्दानी लिन सकिने उनले बताए । पानको पातको बजार अभाव नभएको र व्यापारीहरूले खेतमै आएर किनेर लैजाने गरेको उनले सुनाए ।

समूहकै अर्का किसान सुवास खरेलले व्यक्तिगत पनि छुट्टै खेती गरेको ५ वर्ष पुग्यो । उक्त समूहमा बुवा त्रिलोचन खरेल आबद्ध छन् भने सुवासले दुई कट्ठा जग्गामा आफैंले सुरु गरेका हुन् । समूहभन्दा अगावै खरेलले कोलकाताबाट बिरुवा र प्राविधिक ल्याएर पानको पात उत्पादन सुरु गरेका हुन् । बङ्ला पान खेती झापाका लागि मात्र होइन, नेपालमै पहिलो र नमुना खेती रहेको उनको दाबी छ । वर्षौंदेखि भारतको बजारमा निर्भर रहेको पानको पात नेपालमै उत्पादन गरेर बिक्री हुन थालेको छ । बजारमा पानको माग हेर्दै खेती विस्तार गर्दै जाने योजना रहेको खरेलले बताए । ‘भारतबाट ११ सय बिरुवा ल्याएर ६ लाख रुपैयाँ लगानीमा खेती सुरु गरेका हौं,’ उनले भने । रासायनिक मल पाइए पनि पिना, गाईको दूध, बदामलगायतको मल पानको बिरुवामा हाल्ने गरिएको शिवाकोटीले बताए । स्वदेशमा पानको व्यावसायिक खेती धेरै नभए पनि यसको निर्यात भइरहेको भन्सार विभागको तथ्यांक छ । नेपालमा पानको पात भारतबाट मात्रै आयात हुने गरेको विभागको तथ्यांक छ । नेपालबाट भने फ्रान्स र लन्डनमा पानका पात निर्यात भइरहेको विभागका प्रवक्ता पुण्यबहादुर खड्काले जानकारी दिए । ‘अलिअलि निर्यात भइरहेको छ, त्यो नेपालकै पानको पात हो,’ उनले भने ।

चालु आर्थिक वर्षको सात महिनामा ९९ लाख ४९ हजार रुपैयाँ बराबरको २७ हजार १ सय २८ किलो पानको पात फ्रान्स र लन्डनमा निर्यात भएको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म १ करोड ९४ लाख ५८ हजार रुपैयाँ बराबरको ९८ हजार ५२ किलो पानको पात आयात भएको छ । यसबाट सरकारले ३६ लाख ७४ हजार रुपैयाँ राजस्व उठाएको विभागले बताएको छ । गत वर्ष २ करोड ३७ लाख ९४ हजार रुपैयाँ बराबरको १ लाख ३३ हजार ५ सय ७३ किलो पानको पात भारतबाट आयात भएको छ । त्यस्तै ७७ लाख ४३ हजार रुपैयाँ बराबरको १७ हजार २ सय १ किलो निर्यात भएको छ । आर्थिक वर्ष २०७६/७७ मा २ करोड ७६ लाख २६ हजार रुपैयाँको १ लाख ६८ हजार २७ किलो पत्ता आयात हुँदा ४७ लाख ६४ हजार रुपैयाँको १५ हजार ५ सय किलो निर्यात भएको विभागको तथ्यांक छ । आर्थिक वर्ष २०७५/७६ मा २ करोड ९६ लाख ३२ हजार रुपैयाँको १ लाख ८६ हजार १ सय १० किलो पानको पात आयात भएको थियो । उक्त वर्ष ९ लाख ९७ हजार रुपैयाँको ३ हजार ४ सय ७ किलो पानको पात निर्यात भएको थियो । आयात उस्तै रहे पनि आर्थिक वर्ष २०७५/७६ देखि निर्यात भने बढ्दै गएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।     

( कान्तिपुर दैनिक )