News Desk
सुर्खेत — ११ चैत्र २०७८
सुर्खेत , वीरेन्द्रनगर नगरपालिका–१० भस्नाबाँधमा सिमसार क्षेत्र मासेर सडक निर्माण गरिएको छ । वडाध्यक्ष रत्नबहादुर बुढाको सिफारिसमा सिमसार क्षेत्रको मुहान मासिएको स्थानीयको आरोप छ । मुहान संरक्षण गर्नुको साटो मासेर सडक खनिएको भन्दै स्थानीयले विरोध गरेका छन् । २०२८ सालदेखि खानेपानीको मुहान र सिँचाइका रूपमा प्रयोग गर्दै सिमसार क्षेत्रलाई वडाअध्यक्षले मनपरी रूपमा मासेको स्थानीय रवीन्द्रजंग शाहीले बताए । उनका अनुसार सडक खन्न डोजर प्रयोग गरिँदा पर्यावरणमा पनि असर पुगेको छ । ‘सिमसार त मासियो मासियो, अब विपद्को पनि सामना गर्नुपर्ने भयो,’ उनले भने, ‘बरु यो क्षेत्रलाई संरक्षण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरिनुपर्थ्यो, पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिन्थ्यो ।’
उनका अनुसार खानेपानी मुहान संरक्षणका लागि संरक्षित सिमसार क्षेत्रको बीच भागबाट सडक खनिएको छ । उनले भानपुरका ६ सय घर परिवारले पानीको अभाव भोग्नुपर्ने बाध्यता भएको बताए । झन्डै १२ कठ्ठा क्षेत्रफल भएको सिमसार क्षेत्र मासिँदा पूरै गाउँ प्रभावित भएको स्थानीय शिव थारूले बताए । उनका अनुसार मुहान सुक्ने गरी वडाध्यक्षले सडक निर्माण गराएका छन् । ‘बाँधका लागि संरक्षण गरिएको सिमसारमा वडाले सडक खन्न लगाउनु ठूलो गल्ती हो,’ उनले भने, ‘पानीका मुहान बन्द गरेर कस्तो विकास गर्न खोजिएको हो ?’ सुर्खेत उपत्यका खानेपानी संस्थाले वितरण गर्ने पानीको भर नभएकाले स्थानीय मुहानको विकल्प नभएको उनको भनाइ छ । १२ महिना नै पानी आउने मुहान भत्काएर केही व्यक्तिलाई फाइदा हुने गरी सडक खनिएको अर्की स्थानीय माया चौधरीले बताइन् ।
‘अब ६ सय घरपरिवारको प्यास केले मेट्छ ?,’ उनले भनिन्, ‘संरक्षण गर्न तारवार गरिएको क्षेत्रबाटै सडक खनियो, जग्गा दलालसँग मिलेर सिमसारबाट सडक खनिएको छ ।’ उनका अनुसार केही व्यवसायीले प्लटिङ गरेको स्थानसम्म सडक पुर्याउन वडा कार्यालयले सडक निर्माण गरेको छ । उनले सिमसार क्षेत्रको झन्डै १ किलोमिटर दूरीमा प्लटिङ भइरहेको जानकारी दिइन् । सिमसार क्षेत्र सुकेपछि भस्नाबाँधसहित पर्सेनीसम्म सिँचाइ असुविधा हुने स्थानीयको भनाइ छ । स्थानीयले काँक्रेविहार क्षेत्रभित्रका वन्यजन्तुलाई समेत यसको असर पर्ने भन्दै विरोध गरिरहेका छन् । वीरेन्द्रनगर नगरपालिका–१० का वडाध्यक्ष रत्नबहादुर बुढाले पानीमा राजनीति भएको बताए । ‘पानीको मुहान आसपास जग्गा दलालले ३ मिटर जग्गा च्यापेका रहेछन्, मैले मिलाइसकें,’ उनले भने, ‘मैले सडक खन्ने अनुमति नै दिएको छैन, सडक खनिएको बारे थाहा पनि भएन ।’