News Desk
रौतहट — ११ चैत्र २०७८
रौतहट , स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एमाले रौतहटको विवाद उत्कर्षमा पुगेको छ । एक महिनाअघि एमालेको ९ औं जिल्ला अधिवेशनमा निर्विरोध नेतृत्व चयन भएपछि विवाद सुरु भएको हो । लोकतान्त्रिक विधिअनुसार नयाँ नेतृत्वको चयन नभएसम्म साबिक जिल्ला कमिटी मौजुदा रहेको पूर्वअध्यक्षसहितको भेलाले निर्णय गरेपछि विवाद चर्किएको हो । एमालेका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सांसद रेखाकुमारी झाले केही दिनअघि चन्द्रनिगाहपुरमा प्रेस चौतारीको प्रदेश अधिवेशनको उद्घाटन सत्रमा पार्टीको विवादित अध्यक्ष त्रिभुवन साहलाई आसन ग्रहण गराएको भन्दै आक्रोश पोखिन् । माघ २ गते कटहरियामा भएको अधिवेशनको बन्द सत्रका क्रममा पार्टीको जिल्ला अध्यक्षमा साह चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष उपेन्द्र साहले जानकारी गराएपछि हलभित्र तनाव बढेको थियो ।
त्यसलगत्तै अर्का अध्यक्ष भनिएका तुलसी गिरी पक्षले मान्य नहुने भन्दै बहिष्कार गरे । गिरी अधिवेशन अगाडिका जिल्ला अध्यक्ष हुन् । साह एमाले नेता प्रभु साहनिकट हुन् । निर्विरोधभन्दा चुनावबाट नेतृत्व चयन होस् भन्ने गिरीको भनाइ छ । एमाले नेता साहले नियम मिचेर अध्यक्ष चयन गरेको भन्दै सांसद झाले रोष प्रकट गर्दै आएकी छन् । उनले बिहीबार पार्टीका नेता साहविरुद्ध उजुरी दिइन् । जिल्ला अधिवेशनका बेला हलको असहमतिका बाबजुद नेता साहले पाँच पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगेर शपथ खुवाएको भन्दै झाले उजुरी दिएकी हुन् । अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको उनको उजुरीमा हलले अनुमोदन नै नगरेको, केही पदाधिकारीलाई मध्यरातमा नेता साहको नेतृत्वमा अज्ञात स्थलमा लगी शपथ खुवाइएको कार्यको निन्दा गरिएको छ । उनले रौतहट जिल्ला अधिवेशन सम्पन्न नभएको दाबी गरेकी छन् ।
निर्वाचनको मुखमा जिल्लाका नेताबीचको विवादले कार्यकर्तामा नैराश्यता छाएको उनले बताइन् । संगठनलाई कसरी अगाडि बढाउने बेलामा झगडा गरेर कमजोर हुने एमाले जिल्ला सचिव अनमोल कार्कीले बताए । ‘चुनावका बेला एकढिक्का हुनुपर्छ,’ उनले भने, ‘यसरी विवाद बढाउनु हुँदैन । अब सबै गाउँ छिर्नुपर्छ ।’ एमाले नेता एवं पूर्वसभासद बबन सिंहले नियम मिचेर गरिएको अधिवेशन विफल भएको बताए । उनी केही समयअघि एमाले प्रवेश गरेका थिए । ‘सबै साथीहरूको भावनाविपरीत नेतृत्व चयन भनेर नाम सुनाएकाले यो मान्य हुँदैन,’ उनले भने, ‘निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुनुपर्छ । यसरी आफ्नो मान्छेलाई टीका लगाउने कार्य बन्द हुनुपर्छ ।’ नेता साहले शानदार तरिकाले अधिवेशन सम्पन्न भएको दाबी गर्दै आएका छन् । उनले नियम प्रक्रियागत जिल्ला कमिटी चयन भएको बताए ।