महर्षि वैदिक अर्गानिक कृषि खेती तालिम सम्पन्न
News Desk
Mar-26 , 2022 तारिख 11:06 बिहान

 

काठमाडौं । दक्षिणकाली स्थित ब्रम्हानन्द सरस्वती नगरमा महर्षि वैदिक अर्गानिक कृषि खेती तालिम सम्पन्न भएको छ ।  
मल, माटो र बाली व्यवस्थापनका प्राङ्गारिक विधि सम्बन्धमा केन्द्रित उक्त तालिम शुक्रबार सम्पन्न भएको हो । तालिम सम्पन्न भएसँगै समापन कार्यक्रमको आयोजना गरियो । 

सो अवसर आयोजक संस्था महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष दिपक प्रकाश बाँस्कोटाले कार्यक्रमलाई संबोधन गर्दै स्वस्थकर जीवन जिउन र वैदिक अर्गानिक कृषि खेती जस्तो उत्तम र लाभदायी कृषि कर्म अरु केही नरहेको उल्लेख  गरे ।   

‘रसायनिक र प्राङ्गारिक भन्दा वैदिक कृषि विधिबाटमा धेरै र उच्च पोषणयुक्त खानेकुरा उत्पादन हुन्छ भन्ने कुरा प्रमाणित भएको कुरा हो, त्यसैले यसबाट तपाईंहरुलाई लाभ पुगोस् भनेर हामीले यो तालिम दिएका हौं’ तालिमका सहभागीहरुलाई सम्बोधन गर्दै उनले भने ‘तपाईंहरु निर्धक्क उत्पादन गर्नुस् हामी कालिमाटी तरकारी बजारको मुल्य भन्दा पनि बढि भाउ दिएर तपाईंहरुले उत्पादन गरेका जति पनि वस्तुहरु खरिद गर्छौ, बजार खोज्न तपाईंहरु अन्यत्र जानै पर्दैन्, त्यसैले तपाईंहरु ढुक्कले वैदिक कृषि खेतीमा लाग्नुस् ।’ 

अध्यक्ष बाँस्कोटाले चम्पादेवी दक्षिणकाली क्षेत्रबाट देशमै पहिलो पटक सामुदायिक रुपमा वैदिक कृषि खेती शुरुवात हुन लागेको जनाउदै यसलाई सफल पार्दै अभियानका रुपमा देशभर वैदिक कृषि विधि बारे ज्ञान बाड्ने अभिभारा उठाउन सक्ने हैसियत बनाउन समेत सहभागीहरुलाई आग्रह गरे । 

त्यसैगरि महर्षि वैदिक फाउण्डेसनका अन्तरराष्ट्रिय निर्देशक                      
किन्स्ले ब्रुकले रसायन प्रयोग गरि उत्पादन गरिने वस्तुहरु बिषका रुपमा रहने र वैदिक कृषि खेतीबाट उत्पादित सामाग्री औंषधी सरह रहने हुँदा वैदिक विधिबाट गरिने कृषि कर्म प्राणी   जगतका लागि  लागि धेरै हितकर रहेको बताए । साथै, उनले नेपाल वैदिक कृषिमा जाने हो भने यहाँको पर्यटन विकास र समृद्धीलाई कसैले रोक्न नसक्ने उल्लेख गरे ।  

अर्गानिक एशोसियसनकी महासचिव  एवम्  कंचनजंघा टि स्टेटकी प्रबन्ध निर्देशक शान्ता बाँस्कोटा कोईरालाले आफना पिताजी दिपक प्रकाश बाँस्कोटाको नेतृत्वमा नेपालमा पहिलो पटक अर्गानिक चिया खेती शुरु भएको स्मरण गर्दै जे कुराको शुरुवात गर्न पनि अप्ठयारो महशुस हुने भएता पनि लगाव र अनुभवसँगै सहज हुँदै जाने हुँदा दृढ भएर वैदिक कृषिमा लाग्न तालिमका सहभागीहरुलाई आग्रह गरिन ।  

वैदिक कृषि तालिमका प्रशिक्षक श्याम कुमार प्याकुरेलले पश्चिमा विदेशीबाट पुर्विय वैदिक कृषि खेतीका बारेमा आफूले जानकारी हासिल गरेको उल्लेख गर्दै अब यस बिषयमा गम्भिर बन्दै वैदिक कृषि कर्मलाई अपनाउदै अघि बढन सबैमा आग्रह गरे ।  

कार्यक्रम माझ वैदिक अर्गानिक कृषि खेती कार्यक्रका निर्देशक र तालिमका सहभागीहरुले मन्तव्य राख्दै वैदिक कृषिलाई आपसी समन्वयमा अघि बढाउन प्रतिबद्ध रहेको बताए ।  

कार्यक्रममा अर्गानिक एवम् वैदिक कृषि अभियन्ता तारा बाँस्कोटा, चन्द्रकला बाँस्कोटा, धार्मिक पुरोहितहरु आदीको उपस्थिती रहेको थियो ।