एनआरएनएको नवनिर्वाचित कार्यसमितिकोे पहिलो बैठक सम्पन्न, के–के भए निर्णय ?
News Desk
Mar-29 , 2022 तारिख 11:01 बिहान

काठमाडौं −  १५ चैत्र २०७८

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित कार्यसमितिकोे पहिलो अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक सम्पन्न भएको छ । बैठकमासंघका नव नर्वाचित अध्यक्षहरुद्वारा नयाँ कार्यकाल (२०२१–०२३) का पदाधिकारी तथा आइसिसि सदस्यहरुलाई सपथग्रहण गरउनुका साथै प्रमाणपत्र वितरण गरिएको थियो । बैठकले आगामी कार्यकाल संचालनको लागि कार्यविधि तयार गर्न उपाध्यक्ष डा हेमराज शर्माको नेतृत्वमा २ जना महासचिव गौरीराज जोशी र डा केशव पौडेल, प्रवक्ता सोम सापकोटा र शिवकुमार बरुवाल रहने गरी कार्यदल गठन गरेको छ । बैठकले परोपकारी परियोजना अन्तर्गत काठमाडौंस्थित पशुपति क्षेत्रमा १०० कोठाको आधुनिक सुविधा सम्पन्न बृद्धाश्रमको निर्माण गर्ने निर्णयअनुरुप परियोजना सम्पन्न गर्ने निर्णय गरेको छ । 

सो परियोजनाका लागि नवनिर्वाचित अध्यक्ष कूल आचार्यको १ करोड तथा बैठकमा सहभागी अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुबाट २,५६,५०, २२२ गरी जम्मा ३,५६,५०,२२२ (तीन करोड छपन्न लाख पचास हजार दुइ सय बाइस) को प्रतिबद्धता प्राप्त भएको छ । यस्तै बैठकले एनसिसिहरुमा भएका समस्या समाधानकालागि महासचिवद्वय गौरीराज जोशी र डा केशव पौडेलाई क्षेत्रीय संयोजकहरुसंग समन्वय गरि समाधान गर्ने जिम्मा दिएको छ । साथै अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक ९ अप्रिल २०२२ नेपाली समय ४ बजे बस्ने गरि समय तय गरिएको छ ।
एनआरएनएका तीन अध्यक्षले गरे पदबहाली
गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा. बद्री केसी तथा रबिना थापाले सोमबार दिउंसो संघको केन्द्रीय कार्यालयमा पद बहाली गरेका छन् । अपरान्ह एक बजेर एक मिनटमा निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरुलाई खादा र माला लगाइ दिएर पद बहाली गराएका थिए । उनले तीनै जना अध्यक्षहरुलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे । उक्त अवसरमा संघका नवनिर्वाचित पदाधिकारीहरु पनि उपस्थित थिए । नवनिर्वाचित तीनै जना अध्यक्षहरूलाई निवर्तमान अध्यक्ष कुमार पन्तले आइतबार राती पद तथा गोपनियताको शपथ दिलाएका थिए ।
नवनिर्वाचित पदाधिकारीहरुले लिए शपथ
गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ दिलाएका छन् । सोमबार अपरान्ह संघको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा. बद्री केसी तथा रबिना थापाले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ दिलाएका हुन् । नेपाल आउन नसकेका नवनिर्वाचित पदाधिकारीहरुले जुमबाटै शपथ लिएका थिए । गत शनिबार र आइतबार होटेल हिमालयमा आयोजित संघको दशौँ महाधिवेशनमा तीन जना अध्यक्ष लगायत १०० बढी पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको थियो । तीनै जना अध्यक्षहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिएका थिए । कार्यक्रमको संचालन नवनिर्वाचित महासचिव गौरीराज जोशीले गरेका थिए ।
पशुपति क्षेत्रमा एनआरएनएले वृद्धाश्रम बनाउने
नवनिर्वाचित अध्यक्ष कुल आचार्यले नेपाल सरकार तथा पशुपति क्षेत्र विकास कोषसंग सहकार्य गरी एउटा वृद्धाश्रम बनाउन प्रस्ताव राखेका थिए । उनले राखेको कम्तीमा १०० कोठा रहेको अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न वृद्धाश्रम बनाउने प्रस्तावलाई कार्य समितिको पहिलो बैठकले पारित गरेको छ । आचार्यले आफ्नो तर्फबाट उक्त परियोजनाका लागि रु एक करोड प्रदान गर्ने घोषणा पनि गरे । उक्त वृद्धाश्रमका लागि उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव गौरी जोशी तथा कोषाध्यक्ष सुनिल साहले २५, २५ लाख रुपियाँ प्रदान गर्ने घोषणा गरेका थिए । त्यस्तै अर्का महासचिव डा. केशव पौडेलले रु १० लाख प्रदान गर्ने घोषणा गरे । पहिलो बैठकबाटै उक्त परियोजनाका लागि ३ करोड भन्दा बढी रकमको प्रतिबद्धता व्यक्त गरिएको छ ।

अर्का नवनिर्वाचित बद्रि केसीले यो कार्यकालमा स्मार्ट एप प्रयोग गरेर ‘क्राउड फन्डिंग’ गर्ने जनाए । उनले कूल परियोजना लागतको ३३ – ३३ प्रतिशत रकम उठाउने जिम्मा तीनै जना अध्यक्षले लिने बताए । उक्त बैठकले वृद्धाश्रम बनाउनका लागि सकभर पशुपति क्षेत्रमै जग्गा उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने भन्ने प्रस्ताव पनि पारित गरेको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाए पछि रकम उठाउन शुरु गर्ने बताए । संघको केन्द्रीय सचिवालयले उक्त परियोजनाको लागि १५ देखि १७ करोडसम्म लागत लाग्न सक्ने अनुमान गरेको छ ।
पदाधिकारीहरुले पशुपतिमा गरे पूजा अर्चना
गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरु तथा पूर्व अध्यक्षहरुले सोमबार बिहान पशुपति क्षेत्र पुगेर भगवान श्री पशुपति नाथको पूजा अर्चना गरेका छन् । नवनिर्वाचित अध्यक्षद्वय कुल आचार्य, डा. बद्री केसी, पूर्व अध्यक्ष जीबा लामिछाने, निवर्तमान अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरू महेश श्रेष्ठ, आर के शर्मा, महासचिवद्वय डा. केशव पौडेल, गोरी राज जोशी लगायतका पदाधिकारीहरु पशुपति क्षेत्र पुगेका थिए । नवनिर्वाचित अध्यक्ष रबिना थापाले आफ्ना श्रीमान नारायण थापासंग पशुपति नाथको दर्शन गरिन् । आइतबार अबेर संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरे पछि संघका पदाधिकारीहरु पहिलो सार्वजनिक कार्यक्रममा पशुपति क्षेत्र पुगेका थिए । नवनिर्वाचित अध्यक्ष कुल आचार्यले आराध्यदेव श्री पशुपति नाथको दर्शन गरेर आफुले संसारभरि रहेका गैर आवासीय नेपाली मित्रहरुको कल्याणका साथै संघ भित्र एकताका लागि प्रार्थना गरेको बताए । उनले यो सद्भाव आगामी दिनमा पनि कायमै राख्न सबैलाई आग्रह गरेका छन् ।