News Desk
काठमाडौं – १८ चैत्र २०७८
काठमाडौं , प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार मध्याह्न नयाँ दिल्ली प्रस्थान गर्दै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवाको यो भ्रमण पाँचाँैपटक प्रधानमन्त्री भएपछिको पहिलो औपचारिक भ्रमण हो । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । स्वदेश फर्कनुअघि प्रधानमन्त्रीले भारतको वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहनुभएको छ । भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी हुनेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैङ्कैया नायडूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । चैत १९ गते भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम रहेको छ । साथै, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । त्यसैगरी, प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा देउवाले भारतका विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नेछन् । त्यस्तै प्रधानमन्त्री देउवाले भारत भ्रमणका अवसरमा नयाँ दिल्लीमा व्यापारीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर हुने
प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमणको सिलसिलामा शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन् । भ्रमणका बेला उनी भारतका प्रभानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । त्यसपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितीमा केही समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको बेला दुई देशबीच जयनगर–कुर्था रेल सेवा उद्घाटन सम्बन्धी पत्रमा हस्ताक्षर हुनेछ । हस्ताक्षर लगत्तै दुवै देशका प्रधानमन्त्रीले रिमोर्टद्वारा भर्चुअल रुपमा रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनपछि भारतको जयनगरबाट नेपालको कुर्थासम्म रेल सेवा सञ्चालनमा आउनेछ । उक्त ३५ किलोमीटर रेल सेवा भारतको ८.७७ अर्ब अनुदान सहयोगमा निर्माण गरिएको हो ।
यस्तै, प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला सोलु कोरिडोरमा विद्युत प्रसारण लाइन निर्माण गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । ‘डिजीटल भुक्तानी प्लेटफर्म’ सम्बन्धी एक सम्झौतापत्रमा पनि हस्ताक्षर गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जनाएको छ । भ्रमणका बेला भारतीय सहयोगमा नेपालमा निर्माण भएका १३२ वटा स्वास्थ्य चौकीको पनि रिमेर्टबाट उद्घाट गर्ने कार्यक्रम रहेको छ । उर्जा क्षेत्रमा सोलार इनर्जी र क्लिन इनर्जी सम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई देशबीचको विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रमको अवलोकन गरेपछि भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् । चैत २० गते भारतको उत्तर प्रदेशस्थित वारणासीहुँदै प्रधानमन्त्री देउवा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
सोलु करिडोर आयोजनाको उद्घाटन गरिने
प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणमा सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको उद्घाटन हुने भएको छ । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा चैत्र १९ गते शनिबार स्विच थिचेर प्रसारणलाइनको उद्घाटन गर्ने ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको प्रसारणलाइन करिब ३ वर्ष ढिला गरी गत २ फागुनमा यो प्रसारणलाइन चार्ज गरिएको थियो ।
नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा यसको निर्माण सकिएको हो । सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिङ्लासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरहरुको संख्या ३०२ वटा छन् । सोलु करिडोर प्रसारणलाइन आयोजना अन्तर्गत तिङ्लामा १३२÷३३ केभी, ३० एमभीए र ३३÷११ केभी, ८ एमभीए क्षमताको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसन निर्माण सम्पन्न गरी ७ भदौ २०७६ बाट सञ्चालनमा छ । अहिले तिङ्ला सबस्टेसनबाटै सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत आपूर्ति हुन थालेको छ ।