News Desk
नवनिर्वाचित कार्यसमितिको पहिलो तथा ८४ औँ अन्तराष्ट्रिय समन्वय परिषद्को बैठक सम्पन्न
गैरआवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिको पहिलो तथा ८४ औँ अन्तराष्ट्रिय समन्वय परिषद्को बैठक भएको छ । बैठकले आगामी कार्यकालका लागि आवश्यक विभिन्न रणनीतिमा छलफल गरी सोही अनुसार अघि बढ्ने निर्णय गरेको छ । बैठकले संघको आगामी कार्यकाल सञ्चालनको लागि कार्यविधि तयार गर्न उपाध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा २ जना महासचिव गौरीराज जोशी र डा केशव पौडेल, प्रवक्ता सोम सापकोटा र शिवकुमार बरुवाल रहने गरी कार्यदल गठन गरिएको छ।
परोपकारी परियोजना अन्तर्गत काठमाडौँ स्थित पशुपति क्षेत्रमा एक सय कोठाको आधुनिक सुविधा सम्पन्न बृद्धाश्रमको निर्माण गर्ने निर्णय अनुरुप यस परियोजना सम्पन्न गर्नको लागि नवनिर्वाचित अध्यक्ष कुल आचार्यको १ करोड तथा बैठकमा सहभागी अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुबाट २,५६,५०, २२२ गरी जम्मा ३,५६,५०,२२२ (तीन करोड छपन्न लाख पचास हजार दुइ सय बाइस) को प्रतिबद्धता प्राप्त भएको छ । संघका राष्ट्रिय समिति (एनसीसीहरुमा) भएका समस्या समाधानका लागि महासचिवद्वय गौरीराज जोशी र डा केशव पौडेललाई क्षेत्रीय संयोजकहरुसँग समन्वय गरी समाधान गर्ने जिम्मा दिने निर्णय भएको छ । यसैगरी संघका नव निर्वाचित अध्यक्षहरुद्वारा यस कार्यकाल २०२१- ०२३ कार्यकालका पदाधिकारी तथा आइसीसी सदस्यहरुलाई सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरियो ।
प्रधानमन्त्री देउवासँग भेटवार्ता
गैरआवासीय नेपाली संघको नवनिर्वाचित पदाधिकारीहरुको प्रतिनिधि मण्डलले सम्माननीय प्रधानमन्त्री शेरबहादर देउवासँग विशेष भेटवार्ता गरेको छ । संघका कार्यकारी अध्यक्ष कुल आचार्च सहित अर्का अध्यक्षद्वय रबिना थापा र डा बद्री केसीसहित नवनिर्वाचत अन्य पदाधिकारीहरुले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । सो अवसरमा पदाधिकारीहरुले गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपाली परिचय पत्र, वैदेशिक रोजगार, वृद्धाश्रम परियोजना लगायत अन्य महत्वपूर्ण विषयवस्तुमाथि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री देउवाले पनि गैरआवासीय नेपालीहरुको मागप्रति सरकार सचेत रहेको र आगामी दिनमा पनि सरकारको साथ, सहयोग र सहकार्य यथावत रहने प्रतिवद्धता जनाउनुभयो । साथ, सहयोग र सहकार्य यथावत रहने प्रतिवद्धता जनाउनुभयो
पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य तथा अध्यक्षद्वय रबिना थापा र डा बद्री केसीको नेतृत्वमा संघका नवनिर्वाचित पदाधिकारीहरुले पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटवार्ता गरेका छन् । सो अवसरामा मुख्यतया गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपाली परिचय पत्र, वैदेशिक रोजगार, वृद्धाश्रम परियोजना लगायत महत्वपूर्ण विषयमा संघका तर्फबाट ध्यानाकर्षण गराइएको थियो । भेटमा माओवादी अध्यक्ष दाहालले गैरआवासीय नेपाली संघले विपद तथा महामारी लगायत विषम् अवस्थामा नेपाल र नेपालीका लागि गरेको सेवा सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । सरकारले गैरआवासीय नेपालीका माग पूरा गर्दै आएका र बाँकी विषयमा पनि सरकार सकारात्मक रहेको उहाँको भनाई थियो ।
कानून मन्त्री दिलेन्द्र बडुसँग भेटघाट
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य तथा अर्का अध्यक्षद्वय रबिना थापा र डा बद्री केसीको नेतृत्वमा संघका नवनिर्वाचित माननीय कानून मन्त्री दिलेन्द्र बडुसँग भेटघाट गरेका छन् । सो अवसरमा मुख्यतया गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपाली परिचय पत्र लगायत नेपालमा लगानीका लागि देखा परेका कानूनी अड्चन समाधान गरि सहजीकरण गरिदिन संघका तर्फबाट ध्यानाकर्षण गराइएको थियो ।गैरआवासीय नेपाली संघको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री बडूले सवैधानिक व्यवस्थानुसार नागरिकतासँग सम्बन्धित विषय र संघले उठाउँदै आएका अरु मागहरु कानुन र नियमावली निर्माणबाट सम्बोधनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।
सञ्चार तथा सूचना मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीसँग भेटघाट
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य तथा अध्यक्षद्वय रबिना थापा र डा बद्री केसीसहित अन्य नवनिर्वाचित पदाधिकारीहरुले माननीय सञ्चार तथा सूचना मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीसँग भेटघाट गरेका छन् । भेटमा संघका तर्फबाट ५ बुँदे ध्यानाकर्षण पत्र समेत बुझाइएको थियो । जसमा गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय परिचय पत्र लगायत वैदेशिक रोजगार, सामाजिक कल्याणकारी कोष लगायतमा सरकारको ध्यानाकर्षण गराइएको थियो । भेटमा सञ्चारमन्त्री कार्कीले सरकार गैरआवासीय नेपालीका माग पूरा गर्न सकारात्मक रहेको बताउनुभयो ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग भेट
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य तथा अध्यक्षद्वय रबिना थापा र डा बद्री केसीसहित अन्य नवनिर्वाचित पदाधिकारीहरुले माननीय शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग भेट गरि ५ बुँदे मागपत्र बुझाएका छन् । मन्त्री झाँक्रीसँग पशुपति क्षेत्रमा एक सय कोठाको आधुनिक सुविधायुक्त वृद्धाश्रम बनाउन जग्गा उपलब्ध गराई दिन आग्रह गर्दै विकासका लागि गैरआवासीय नेपालीसँग सहकार्य गर्न संघका तर्फबाट आग्रह गरिएको थियो । सो अवसरमा मन्त्री झाँक्रीले संघसँग सहकार्यका लागि सरकार तयार रहेको र यसअघि साझेदारीमा भइरहेका र अब हुने सबैखाले विकास निर्माणका कार्यमा सकेसम्म सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट
गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीले पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेको छ । एनआरएनए अध्यक्ष कुल आचार्य, रविना थापा र डा बद्री केसीसहितको नवनिर्वाचित कार्यसमितिको टोलीले भक्तपूरको बालकोटस्थित ओली निवास पुगेर भेटघाट गरेका हुन् । ज्ञापनपत्र बुझ्दै पूर्व प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपालमा कोरोना महामारीका समयमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी विधेयक आफू नेतृत्वको सरकार देखि नै संसदीय प्रक्रियामा रहेको बताउँदै केही समय ढिला भए पनि यथाशिघ्र दलीय सहमतिमा टुंगो लगाइने आश्वासन दिनुभयो ।
गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता
गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरुहरुले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् । संघको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूसँग गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री बालकृष्ण खाँणले नेपालको संविधान २०७२ राजनीतिक दलबीचको सहमतिबाट संशोधन र परिमार्जन गर्न सकिने भन्दै, संविधान संशोधन गरेर गैरआवासीय नेपालीलाई नागरिकता लगायतका सहुलियत दिन सरकार सकारात्मक रहेको बताउनुभयो ।नेपालको राज्य प्रणालीले गैरआवासीय नेपालीलाई विदेशी मान्न तयार नरहेको भन्दै राज्य गैरआवासीय नेपाली कहिले नेपाल फर्किन्छन् भन्ने प्रतिक्षामा रहेको बताउनुभयो । गैरआवासीय नेपालीलाई नेपालसँग जोडिरहन संविधानमा गैरआवासीय नेपालीबारे विभिन्न व्यवस्था गरिएको उहाँको भनाइ थियो । त्यस्तै गैरआवासीय नेपालीहरूलाई नेपाल आउन र नेपालबाट बाहिर जान सहज बनाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डेस्क’ स्थापनाको तयारी सरकारले गरिरहेको बताउनुभयो । भेटमा गृहमन्त्री खाणलाई एनआरएनएका तर्फबाट ५ बुँदे मागपत्र बुझाइएको थियो । मागमा गैरआवासीय नागरिकलाई गैरआवासीय नागरिकता दिनुपर्ने, वैदेशिक रोजगारीमा जाने र फर्किनेलाई अन्तर्राष्ट्रिय विमानस्थलमा सहज वातावरण निर्माण गरिनु पर्ने, जन्मस्थान नेपाल लेखेका राहदानी बाहकलाई नेपाल प्रवेशाज्ञामा सहज बनाइदिनुपर्ने लगायत उल्लेख छ ।
नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतसँग भेट
गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षत्रय कुल आचार्य, रबिना थापा र बद्री केसीको को नेतृत्वमा नवनिर्वाचित पदाधिकारीको टोलीले नेपाली काँग्रेस पार्टीका प्रवक्ता डा प्रकाशशरण महतलाई भेटेको छ । जसमा गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय परिचय पत्र लगायत वैदेशिक रोजगार, सामाजिक कल्याणकारी कोष लगायतमा सरकारको ध्यानाकर्षण गराइएको थियो । सो क्रममा प्रवक्ता महतले गैरआवासीय नेपालीका माग सम्बोधन गर्न आवश्यक पहल चाल्न आफ्नो पार्टी सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट
गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गरि ५ बुँदे ज्ञापनपत्र बुझाएका छन् । सो अवसरमा नेता पौडेलले गैरआवासीय नेपालीका माग सम्बोधनका लागि आफू सकारात्मक रहेको र आफ्नो पार्टीले पनि सकारात्मक पहल गर्ने आश्वासन दिनुभयो ।
नेकपा एकीकृत समाजवादीका नेतासँग भेटघाट
गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीले पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल लगायत समाजवादी पार्टीका नेतासँग भेटघाट गरेका छन् । उक्त भेटघाट कार्यक्रममा खनालसहित नेकपा एकीकृत समाजवादीका नेताहरुले संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मान, बधाई तथा शुभकामना दिएका थिए ।पूर्व प्रधानमन्त्री खनालसँग पनि संघको टोलीले नागरिकता, वैदेशिक रोजगारीका समस्या र एनआरएन फण्डलगायतका विषयमा ध्यानर्कषण गराएको थियो । गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपालमा र नेपाल बाहिर गरेका गतिविधिको प्रशंसा गर्दै खनालले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी विधेयक संसदीय प्रक्रियामा रहेकोले यथाशिघ्र यसलाई टुंगो लगाइने आश्वासन दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्दिमान तामाङसँग भेटघाट
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यसहित अध्यक्षद्वय रबिना थापा र डा बद्री केसीसहितका नवनिर्वाचित पदाधिकारीहरुले नेतृत्वमा संघका नवनिर्वाचित पदाधिकारीहरुको राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्दिमान तामाङसँग भेटघाट गरेका छन् । भेटमा संघका तर्फबाट ५ बुँदे मागपत्र बुझाइएको थियो । सो क्रममा गैरआवासीय नेपालीका माग सम्बोधन गर्न आवश्यक पहल चाल्न आफ्नो पार्टी सकारात्मक रहेको प्रतिक्रिया उपाध्यक्ष तामाङले दिनुभयो ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापासँग भेटघाट
गैरआवासीय नेपाली संघको नवनिर्वाचित पदाधिकारीहरुले कार्यकारी अध्यक्ष कुल आचार्यको नेतृत्वमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापासँग भेटघाट गरी वृद्धाश्रम निर्माणका लागि जग्गा अधिग्रहणबारे छलफल गरेको छ । सो क्रममा थापाले कानूनी सबै मापदण्ड एवं प्रक्रिया मिलाएर सरकारको अनुमतिका साथ कार्य थाल्न सकिने र त्यसमा कोषको सहकार्य रहने बताउनुभयो ।
गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरुद्वारा सम्माननीय प्रधानमन्त्री लगायत विभन्न राजनैतिक दलहरुका अध्यक्ष र नेपाल सरकारका मन्त्रीहरुसँगको भेटघाटमा बुझाएको ५ बुँदे ज्ञापनपत्रमा समेटिएका विषयहरु
नवनियुक्त अध्यक्षज्यूहरु लगायत पदाधिकारीहरुको पशुपतिमा पूजाआजा कार्यक्रम सम्पन्न भएको छ ।