News Desk
लन्डन – २५ चैत २०७८
लन्डन, गैरआवासीय नेपाली संघ ( एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुल आचार्य बेलायत आइपुगेका छन् । दुई साताअघि सम्पन्न संघको महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि पहिलोपटक उनी आफ्नो कर्मभूमि बेलायत आएका हुन्। बुधबार बिहान लन्डन हिथ्रो विमानस्थल उत्रिएका अध्यक्ष आचार्यलाई एनआरएनए अभियन्ताहरुले स्वागत गरेका थिए।
उनको स्वागतका लागि एनआरएनए यूकेको वर्तमान कार्यसमितिबाट कोषाध्यक्ष विष्णु खरेल, सदस्य सुमन शर्मा, पूर्व महासचिव आरके त्रिपाठी र पूर्व कोषाध्यक्ष दिलरास गुरुङ, अन्तरराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङ र कोषाध्यक्ष कमल गुरुङ, नेप्लिज सेफ एशोसिएसन यूके अध्यक्ष दधि आचार्य, शिव कंडेल लगायत विमानस्थल पुगेका थिए। बहुअध्यक्षीय प्रणालीमार्फत् डा बद्री केसी र रविना थापासंगै अध्यक्ष बनेका आचार्य पहिलो ६ महिनाका लागि कार्यकारी भूमिकामा छन् । उनी छोटो समयको बेलायत बसाइपछि संघको कामकै लागि नेपाल फर्किने योजनामा रहेको बुझिएको छ ।
एनआरएनएको जननी मुलुक भनिने बेलायतबाट संघको अध्यक्ष निर्वाचित हुने आचार्य पहिलो हुन् । एनआरएनए यूकेमा सन् २०११-१३ मा अध्यक्ष रहेका उनले पछि आइसीसीमा युरोप संयोजक र उपाध्यक्षको रुपमा एक-एक कार्यकाल काम गरेका थिए । दुई वर्षअघि पनि अध्यक्ष प्रत्यासी रहेका उनी कुमार पन्तसँग केही मतले पछि परेका थिए । त्यसयता एनआरएनएमा प्रतिपक्षको भूमिकामा देखिएका आचार्य अहिले भने संस्थाको बागडोर सम्हाल्ने अवस्थामा आइपुगेका छन् ।