जीवन विकास लघुवित्तको ७० प्रतिशत बोनस सेयर पारित
News Desk
Apr-11 , 2022 तारिख 12:54 बेलुका

काठमाडौं – २८  चैत २०७८  

काठमाडौं , जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभाले ७० प्रतिशत बोनस सेयर र ३.६९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित भएको छ । शनिबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को वितरणयोग्य मुनाफाबाट गत असार मसान्तमा कायम चुक्ता पुँजी ६० करोड ८४ लाखमध्ये ४२ करोड ५८ लाख ८० हजार बोनस सेयर पारित गरेको हो ।

त्यस्तै दुई करोड २४ लाख १४ हजार ७३६ रुपैयाँ नगद लाभांशसमेत पारित भएको हो । सेयरधनीमध्येबाट गोकर्ण खतिवडा र अशोक सिटौला साधारणसभाबाट सञ्चालक समितिमा निर्वाचित भएका छन् । सञ्चालक सदस्यमा निर्वाचित दुवै जनालाई संस्थाका अध्यक्ष विक्रमराज सुवेदीले प्रमाणपत्र हस्तान्तरणसँगै शपथ ग्रहण गराएका थिए ।