News Desk
काठमाडौं – २८ चैत २०७८
काठमाडौं , नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको संयुक्त नेतृत्वमा आयोजना भइरहेको हिमाल सरसफाइ अभियानमा कोका–कोला फाउन्डेशनले सहकार्य गर्ने भएको छ । यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाइ अभियान हो । पर्वतारोहीहरूले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रर्दूषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्देश्य हो । सगरमाथा, लोत्से, मनास्लु हिमाल र कञ्चनजंघा गरी आठ हजार मिटरभन्दा अग्ला हिमालहरू सरसफाइ गर्ने यो कार्यक्रममा कोका–कोलासहित थुप्रै सरोकारवाला निकायहरु पनि सहभागि छन् ।
यही चैत्र २२ देखि जेष्ठ ५ सम्म सञ्चालन हुने यो अभियानमा करिब साढे ३ टन फोहोर संकलन हुने अनुमान गरिएको छ । संकलन भएका सबै फोहोरहरु उचित व्यवस्थापनको लागि रि–साइक्लिङ पार्ट्नरहरुलाई हस्तान्तरण गरिने छ । प्रतिकूल मौसम र हाइ अल्टिच्युडमा कठिन काम गर्नुपर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको छ । कोका–कोलाले यो अभियानमा संलग्न सदस्यहरूलाई हाइड्रेसन र रिफ्रेसमेन्टको लागि पेय पदार्थहरु पनि उपलब्ध गराएको छ ।
कोका–कोला फाउन्डेसनका अध्यक्ष साडिया माड्सब्जर्गले भने, ‘हिमालहरु सफा गर्ने नेपाली सेनाको प्रयास वास्तवमै सराहनीय छ । नेपालका गौरव यी हिमालहरुको पवित्रता जोगाइराख्ने नेपाली सेनाको यो साहसिक काममा तेश्रो वर्ष पनि हामी जोडिन पाउँदा गौरवान्वित महशुस गरेका छौं ।’ नेपाली सेनाको नेतृत्वमा सन् २०१९ मा पहिलो पटक आयोजना गरिएको यस हिमाल सरसफाइ अभियानमा १० हजार ५८६ किलो फोहोर सङ्कलन भएको थियो । २०२१ मा २७ हजार ६७१ किलो फोहोर निकालिएको थियो ।