News Desk
काठमाडौँ । सुरुङ खन्न थालेपछि पानीका मुहान सुकेको भन्दै चन्द्रागिरि नगरपालिका–२ का स्थानीयले निर्माणमा अवरोध गरेका छन् । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण पाँच दिनदेखि रोकिएको छ । गत चैत २८ र २९ मा स्थानीयले टुटिपाखामा रहेको निर्माण कम्पनी हाज्मा एन्डो र परामर्शदाताको कार्यालय तोडफोड गरेको आयोजनाले जनाएको छ । यही वडाका स्थानीयले धादिङतर्फ पनि निर्माणको काम अघि बढ्न दिएका छैनन् ।
यसअघि स्थानीयले २०७७ फागुनमा आजीवन निःशुल्क खानेपानीको व्यवस्थापन गर्नुपर्नेलगायत ८ बुँदे माग आयोजनासमक्ष राखेका थिए । तर आफूहरूका माग पूरा नगरिएको वडा नम्बर २ वडा अध्यक्ष गोपी सुर्खेतीले बताए । खानेपानीलगायतका माग राखेर निर्माण कम्पनीको कार्यालय पुग्दा प्रहरीले हस्तक्षेप गरेपछि झपड भएको उनको दाबी छ ।