News Desk
दमक । राजनीतिक बन्दीका रूपमा २४ वर्षदेखि चेम्गाङ जेलमा राखिएका भुटानी मानव अधिकारकर्मीसहित ६ जनालाई भुटान सरकारले रिहा गरेको छ । सन् १९९८ जुलाईदेखि थुनामा राखिएका ड्रुक नेसनल कंग्रेसका नेता छेवाङ रिन्जिन र भुटानमा सन् २००८ मा लोकतन्त्र बहाली भएपछि पक्राउ गरिएका ५ नेपालीभाषी डेढ साताअघि रिहा भएका हुन् ।
राजनीतिक बन्दी रिहाइको अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीका अनुसार चेम्गाङ जेलमा रहेका ३१ राजनीतिक बन्दीमध्ये यसपटक छेवाङसहित खर्कबहादुर मोंगर, बलराम चाम्लिङ, नइन्द्रप्रसाद खुलाल (खरेल), घनश्याम गुरुङ र रामबहादुर खुलाललाई भुटान सरकारले रिहा गरेको हो । नेदरल्यान्ड्सको हेगमा रहेका कार्कीका अनुसार रिहा भएकामध्ये खर्कबहादुर २००८ फेब्रुअरी ९ मा सर्वाङ जिल्लाबाट पक्राउ परेका थिए । घनश्याम त्यही वर्ष फेब्रुअरी २, नइन्द्र फेब्रुअरी ४, रामबहादुर फेब्रुअरी ९ र बलराम फेब्रुअरी १० मा भुटानभित्रै समातिएका थिए । उनीहरूलाई राजनीतिक दलमा आबद्ध रहेको भन्दै पक्राउ गरिएको थियो । चेम्गाङबाट रिहा भएपछि उनीहरू सबै भुटानमा रहेका आफन्तसमक्ष पुगिसकेको जनाइएको छ । रिहा भएका नइन्द्रप्रसाद र रामबहादुर एकै परिवारका दाजुभाइ रहेको झापाको दमकस्थित बेलडाँगी शिविरका एक शरणार्थीले बताए ।