News Desk
काठमाडौं – ०६ बैशाख २०७९
काठमाडौं , निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि हालसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाइ सकेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म उक्त सङ्ख्यामा मतपत्र छापिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । स्थानीय तह निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्ने समाचार र सूचनाका आधारमा आयोगले विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेस गर्न पत्राचार गरेको बताइएको छ । निर्वाचनलाई अपाङमैत्री बनाउने र मतदानमा प्राथमिकता दिने विषयलाई आयोगले विशेष ध्यान पु¥याउने बताउँदै प्रवक्ता पौडेलले निर्वाचन सामग्री व्यवस्थापनका कारण अब निर्वाचनमा बाधा नपुग्ने स्पष्ट पारे ।
सामान्य प्रशिक्षण कार्य खर्चबाहेक यस पटकको स्थानीय तह निर्वाचन आफ्नै आर्थिक स्रोतबाट सम्पन्न गर्न लागेको सो अवसरमा जानकारी दिइयो । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनसम्बन्धी काममा एकरूपता कायम गर्न आयोगले ७७ वटै मुख्य निर्वाचन अधिकृत र ६७६ वटै निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइनबोर्ड, लेटरहेड र छापको नमुना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पत्राचार गरेको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन यही वैशाख १ गतेदेखि हरेक दिन प्रकाशन गर्दै आएको ‘स्थानीय तह निर्वाचन ई–बुलेटिन’ आयोगको वेबसाइटमा उपलब्ध छ ।
संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना हुँदै
निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधित्व हुने गरी यही वैशाख १० गते आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना हुँदैछ । निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न आयोगका सहसचिवको संयोजकत्वमा गृहमन्त्रालय, रक्षा मन्त्रालय र सुरक्षा निकायका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतको प्रतिनिधित्व केन्द्रमा रहनेछ । यही वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन यही वैशाख ११ र १२ गते हँुदैछ निर्वाचन कार्यालय स्थापना गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने तथा जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयद्वारा सञ्चालित निर्वाचन कार्यक्रमसम्बन्धी प्रगति प्रतिवेदन तुरुन्त प्राप्त गरी सचिवालयमार्फत आयोगमा पेश गर्ने केन्द्रको मुख्य कार्य जिम्मेवारी रहने छ ।
विभिन्न सुरक्षा निकायसँग समन्वय र सम्पर्क गरी निर्वाचनसम्बन्धी वस्तुस्थिति बुझी सुरक्षासहित आयोगमा पेश गर्ने, निर्वाचन कार्यक्रम सञ्चालनसँग सम्बन्धित सबै विषय प्रवक्तामार्फत सबै सामु पु¥याउन आवश्यक सूचना र विवरण उपलब्ध गराउने कार्य जिम्मेवारी रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र अन्य निकायले पेश गरेका समस्या समाधान गर्न आवश्यक व्यवस्था मिलाउने, निर्वाचन सुरक्षा तथा निर्वाचन हिंसाका घटना परिघटनको सङ्कलन एवं विश्लेषण, रोकथाम र समाधान गर्नका लागि उपयुक्त कदम चल्न आयोग र सम्बन्धित निकायमा केन्द्रले सुझाव पेश गर्नेछ । निर्वाचन व्यवस्थापनसम्बन्धी सूचना सङ्कलन, प्रशोधन, विश्लेषण अद्यावधिक गर्ने तथा दैनिक प्रतिवेदनसम्बन्धी काम गर्ने केन्द्रबाट हुनेछ । केन्द्रले निर्वाचन कार्य सम्पन्नपछि आयोगसमक्ष अन्तिम प्रतिवेदन पेश गर्ने कार्य जिम्मेवारीे छ ।