News Desk
काठमाडौं – ११ बैशाख २०७९
काठमाडौं , नेकपा (एमाले) ले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उप मेयरमा सुनिता डंगोललाई उठाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले स्थापित र डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । स्थापित अहिले बागमती प्रदेश सांसद छन् । उनी बागमती प्रदेशका पूर्व भौतिक मन्त्रीसमेत हुन्। स्थापितले २०५४ सालमा मेयर जितेका थिए । दशकअघि मिस नेवा को ताज पहिरिएकी डंगोल सामाजिक विज्ञानमा स्नातकोत्तर हुन् । उनले शहरी योजना आयोगमा सहायक विज्ञका रुपमा काम गरेकी छन् । टेलिभिजन कार्यक्रम प्रस्तोतासमेत रहेकी डंगोलले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेकी थिइन् ।
सन् २०११ मा मिस नेवा समेत बनेकी डंगोलले काठमाडौंलाई सुन्दर, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउनका लागि विभिन्न प्रतिबद्धता जनाएकी थिइन् । उनले आफ्नो ८ खम्बे विकास मोडेलमा ‘स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रूपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद,रोजगारी तथा उद्यमशीलता, रिसर्च एन्ड डिभलपमेन्ट’ लाई समेटेकी थिइन् । सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको छ । ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ । यस्तै एमालले ९ उपमहानगरपालिकामा पनि उम्मेदवार टुंगो लगाएको छ ।
जसमा धनगढीको मेयरमा रणवहादुर चन्द र उपमेयरमा चन्द्रकला राना थारु, नेपालगन्जको मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकाल, तुलसीपुरको मेयरमा टिकाराम खडका र उपमेयरमा स्यानी चौधरी, घोराहीको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी, बुटवलमा मेयरमा बाबुराम भट्टराई र उपमेयरमा साबित्रा अर्याल, हेटौंडाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्ले, धरानको मेयरमा मन्जु भण्डारी र उपमेयरमा पदम लिम्बु, इटहरीको मेयरमा यामकुमार सुब्बा र उपमेयरमा संगीता चौधरी र कलैयाको मेयरमा बिनोद शाहलाई उम्मेदवार चयन गरेको छ ।