News Desk
काठमाडौं – ११ बैशाख २०७९
काठमाडौं, उपराष्ट्रपति नन्दबहादुर पुनले समाजसेवामा सामाजिक संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । फोकस नेपालद्धारा शनिबार काठमाडौंमा आयोजित नयाँ वर्ष २०७८ तथा लोकतन्त्र दिवसको अवसरमा ‘समुन्नत नेपाल निर्माणमा सामाजिक संघसंस्थाहरुको भूमिका’ विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथि रहनुभएका उहाँले समाजसेवामा लाग्न सबैमा ठूलो मन चाहिने बताउनुभयो । ‘मानव सेवा र समाजसेवा गर्न सजिलो छैन, त्यसको लागि भित्री मनबाट नै इच्छा हुनुपर्दछ’ उहाँले भन्नुभयो ‘ लोकतन्त्र स्थापनाको लागि सामाजिक संघसंस्थाले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दछु । ’ उहाँले सरकार नपुगेको दुर्गम ठाउँमा सामाजिक संघसंस्थाले चेतना बाँड्नुका साथै उनीहरुलाई राहत दिने काम गरेको पनि स्मरण गर्नुभयो ।
सरकार र नागरिकबीचको सम्बन्धलाई सामाजिक संघसंस्थाले नजिक बनाउने भन्दै उहाँले देश विकासमा सामाजिक संघसंस्थाले खेलेको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । उहाँले झण्डै ५० हजारको हाराहारीमा रहेका सामाजिक संघसंस्थाले आफ्नो ठाउँबाट समाजको लागि केही न केही उल्लेखनीय काम गरेको पनि बताउनुभयो । नयाँ वर्ष २०७९ को सबैलाई शुभकामना दिँदै उहाँले आगामी स्थानीय निर्वाचन निश्पक्ष, धाँधलीरहित र भयरहित हुने विश्वाससमेत व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई संस्थाले सम्मान गरेको थियो । प्रमुख अतिथि उपराष्ट्रपति पुनले सम्मानित हुनेहरुलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा विशेष अतिथि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज ‘अथक’ ले सामाजिक संघसंस्थाले संगठित नागरिकको भूमिका खेलेको बताउनुभयो ।
उहाँले युवा र व्यवसायीले केही गर्नुपर्छ भन्ने सोच्ने हो भन्ने देशको विकास हुन केही समय नलाग्ने बताउनुभयो । ‘हामीसँग प्रशस्तै सम्भावना भएकाले युवा र व्यवसायीलाई उत्साहित भएर आफ्नो काममा लाग्न आग्रह गर्दछु’ उहाँले भन्नुभयो । मन्त्री गहतराजले नयाँ वर्षको शुभकामना दिँदै यो वर्ष निर्वाचनको वर्ष भएकाले नागरिकलाई सचेत र जिम्मेवार भएर मतदान गर्नसमेत आग्रह गर्नुभयो । फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेलगायतका विशिष्ठ अतिथि रहेका थिए । कार्यक्रममा सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिएको थियो ।