News Desk
काठमाडौं – १४ बैशाख २०७९
काठमाडौं , निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि छपाइ भएका मतपत्र मंगलबारदेखि जिल्ला जिल्लामा पठाउन थालेको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट लोड भई मंगलबार कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका तीन गरी १३ जिल्लामा मतपत्र पठाइएको छ । वैशाख १४ गते काठमाडौँबाट लामो दूरीमा पर्ने पूर्व र पश्चिमका गरी नौ जिल्लामा मतपत्र पठाइनेछ । वैशाख १२ गतेसम्म एक करोड ५४ लाख ८३ हजार (८० प्रतिशत) मतपत्र छपाइको कार्य सम्पन्न भइसकेको छ । निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ । मंगलबारै निर्वाचन सामग्री पुग्न बाँकी डोल्पाको दुनै र हुम्लाको सिमीकोटमा नेपाली सेनाको हेलिकोप्टरबाट सामग्री पठाइएको छ । केही स्थानबाट मनोनयनको विवरण आउन बाँकी निर्वाचन कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा अधिकांश स्थानबाट दर्ताको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट भइरहेको छ भने केही स्थानबाट विवरण आउन बाँकी रहेको छ ।
निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार २७४ पुगेको छ । मंगलबार दिउँसो ३ः१५ बजेसम्म उक्त अपडेट भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले स्थानीय तह निर्वाचनको लागि आइतबार र सोमबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिएको थियो । मनोनयन दर्ता गर्नेको विवरण जिल्लाबाट आउनेक्रम जारी रहेकोले अझै संख्या बढ्ने आयोगले जनाएको छ । आयोगका अनुसार प्रदेश १ मा २२ हजार ५४२, मधेश प्रदेशमा ३८ हजार ७८७, बागमती प्रदेशमा २४ हजार ३३, गण्डकी प्रदेशमा १२ हजार ७८७, लुम्बिनी प्रदेशमा २३ हजार ४९, कर्णाली प्रदेशमा १३ हजार ४०३ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ६७३ जनाले उम्मेदवारी दिएका छन् । ३ हजार ४३० जनाले प्रमुखमा, ३ हजार ३६३ जनाले अध्यक्षमा, २ हजार ९७ जनाले उपप्रमुखमा, २ हजार ३८२ जनाले उपाध्यक्षमा, ३४ हजार ३५७ जनाले वडा अध्यक्षमा, २५ हजार ३४५ जनाले महिला सदस्यमा, २२ हजार ८९९ जनाले दलित महिला सदस्यमा र ५३ हजार ४०१ जनाले सदस्यमा उम्मेदवारी दिएको आयोगले जनाएको छ । वैशाख ३० गते देशभरका ७५३ वटा स्थानीय तहमा ३५ हजार २२१ पदको लागि निर्वाचन हुँदैछ ।
मंगलबार दिउँसो २ बजेसम्म मधेस प्रदेशका तीन जिल्ला, लुम्बिनी प्रदेशको एक र कर्णाली प्रदेशको दुई जिल्लाका केही पालिकाको विवरण आउन बाँकी रहेकामा सुर्खेतको वीेरेन्द्रनगर नगरपालिका र दाङको लमही नगरपालिकाको विवरण प्रविष्ट भएको छ । मंगलबार रातिसम्ममा बाराको कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, सुवर्णमाई गाउँपालिका, महोत्तरीको औराही र मटिहानी, सिरहाको सुखीपुर, धनगढीमाई, लहान र कर्जनाह र कालीकोटको पलाता गाउँपालिकाबाको विवरण प्रविष्ट भइसक्नेछ । निर्वाचन सुरक्षा विषयक मुख्य प्रशिक्षक प्रशिक्षण निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि मंगलबार निर्वाचन सुरक्षा विषयक मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । नेपाल सरकार, गृहमन्त्रालय, रक्षा मन्त्रालय, चारवटै सुरक्षा निकाय, आयोगका कर्मचारी र साझेदार संस्था युएनडिपी, इएसपीका प्रतिनिधि सहभागी सो प्रशिक्षण कार्यक्रमको आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले शुभारम्भ गरे । आयुक्त डा तुलाधरले शुभारम्भ कार्यक्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीसहित उच्च अधिकारीको उपस्थिति थियो ।
प्रशिक्षणको दोस्रो सत्रमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले निर्वाचनसम्बन्धी कानूनी पक्ष, आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले निर्वाचन कार्यक्रम र व्यवस्थापन, आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले मतदान र मतगणना विषयमा प्रशिक्षणमा प्रस्तुति र सहजीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणहरुमा स्थानीय तहको निर्वाचन कार्यक्रम, निर्वाचन कसुर तथा सजाय, आचारसंहिता, अनुगमन, पर्यवेक्षण, सामाजिक सञ्जाल अनुगमन, विवाद सुनुवाइ र निरुपण, मतपत्र छपाइ र ढुवानी, मतदान र मतगणना प्रक्रिया आदि विषय समाविष्ट गरिएको थियो । निर्वाचनका लागि आधिकारिक भाइबर ग्रुपनिर्वाचनका लागि निर्वाचन आयोग, नेपाल र सामाजिक सञ्जाल भाइबरले आधिकारिकरूपमा आयोगको भाइबर ग्रुप औपचारिकरूपमा सुरु गरेको छ । आयोगले यस प्लेटफर्मको प्रयोग गरी नागरिक तथा निर्वाचन सरोकारवालालाई समयसापेक्ष, अद्यावधिक र सही सूचना उपलब्ध गराउनेछ । यस प्लेटफर्मको प्रयोग गरी निर्वाचनसम्बन्धी मतदाता शिक्षा र विभिन्न जानकारी प्राप्त गर्न सकिनेछ ।