News Desk
चितवन – १४ बैशाख २०७९
चितवन , नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार गृहजिल्ला चितवनका पाँच दलीय गठबन्धनका नेताहरूसँग भेट गरेका छन् । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेताहरूसँग भेट गरेका हुन् । छोटो समयका लागि चितवन पुगेका प्रचण्डले नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल र भरतपुर महानगरपालिकाका उपप्रमुखका उम्मेदवारसमेत रहेका नगर सभापति चित्रसेन अधिकारीलाई भेट गरेका हुन् । उनले समाजवादीका केन्द्रीय सदस्य कृष्ण खनाललाई पनि भेट गरेका थिए । भेटपछि कांग्रेस सभापति खनालले गठबन्धनलाई सशक्त बनाएर अघि बढाउने विषयमा छलफल भएको बताए । प्रचण्डले वडा तहसम्म मिलाएर लैजानुपर्नेमा जोड दिएका थिए । नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलको प्रमुख पदमा वागी उम्मेदवारीको विषयमा पनि छलफल भएको जनाइएको छ ।
खनालले भने, ‘विस्तृत छलफल १६ गते पछि गर्ने विषयमा कुराकानी भएको छ ।’ प्रचण्डलाई भेटेपछि बागमती प्रदेशका मन्त्रीसमेत रहेका समाजवादीका नेता कृष्ण खनालले आफूसँगको भेटमा प्रचण्डले वडा तहसम्म मिलाउन र असन्तुष्टलाई सम्झाउन आग्रह गरेको बताए । प्रचण्डले चितवनमा रहँदा माओवादी केन्द्रका नेता कार्यकर्तासँग समेत भेटघाट गरेका थिए । प्रचण्डको उपस्थितिमा पार्टीको निर्वाचनसँग सम्बन्धित योजना निर्माणका विषयमा छलफल भएको थियो । छलफलमा पार्टीका केन्द्रीय सदस्य, जिल्ला र महानगरका पदाधिकारी सहभागी भएको पार्टीले जनाएको छ ।
चितवनमा २२५० जनाको उम्मेदवारी दर्ता स्थानीय तहको निर्वाचनका लागि जिल्लामा दुई हजार २५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेका सात पालिका प्रमुख, उपप्रमुख र ९८ वटा वडामा वडाध्यक्ष वडा सदस्य गरी सो सङ्ख्यामा उम्मेदवारी दर्ता गराएका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सात पालिकामध्ये ६ पालिका प्रमुखमा ७४ जना, उपप्रमुखमा ४५ जना गाउँपालिका अध्यक्षमा ५ जना, उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको हो । कार्यालयका अनुसार ९८ वटा वडाको वडाध्यक्षका लागि ५०१ जनाको उम्मेदवारी परेको हो । यस्तै महिला सदस्यमा ४१४ जना, दलित महिला सदस्यमा ३५१ जना र खुल्ला सदस्यमा ८५८ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका रहेका छन् । सात पालिकामा गरी तीन लाख ९७ हजार ६८५ मतदाता रहेका छन् । जसमध्ये दुई लाख चार हजार ६६६ महिला र एक लाख ९३ हजार १८ पुरुष रहेका छन् । अन्य एक जना मतदाता रहेको आयोगले जनाएको छ ।