News Desk
काठमाडौँ – १६ बैशाख २०७९
काठमाडौँ, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भलाई मजबुद बनाउनु आजको आवश्यकता भएको बताएका छन् । उनले बिहीबार एक अपिल जारी गरी संविधानविरोधी तथा लोकतन्त्रविरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरेर स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भलाई मजबुद बनाउनुपर्ने उल्लेख गरेका हुन् ।
मुलुकमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य, मान्यताको संरक्षण र सुदृढीकरण गर्न तथा लोकतन्त्रविरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गरी देश, संविधान र गणतन्त्रलाई जोगाउनुपर्ने सभापति देउवाको भनाइ छ ।
मुलुकमा लोकतान्त्रिक र परिवर्तनकारी शक्तिका बीचमा तालमेल र सहकार्य गरी मुलुकलाई राजनीतिक स्थायित्व र सहज निकास दिनुपर्ने यथार्थतालाई आत्मसात गरी यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाबीचमा देशभर नै स्थानीय अवस्थाअनुसार चुनावी तालमेल गर्ने निर्णय भएको थियो । पाँच दलीय गठबन्धनको अपरिहार्यतालाई आत्मसात गर्दै कांग्रेसकै नेतृत्वमा पाँच दलका बीचमा भएको स्थानीय तहको निर्वाचनसम्बन्धी तालमेलको निर्णय कार्यान्वयन गर्न केन्द्रीय कार्यालयमार्फत पार्टीका देशभरका सातवटै प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमिति र सबै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलगायत पार्टीका सबै तह र निकायलाई निर्देशन गरिएको अपिलमा उल्लेख छ । सभापति देउवाले पार्टीका सबै सदस्यहरूलाई अनुरोध र आह्वान गर्दागर्दै पनि पाँच दलीय गठबन्धनको निर्णय र सहमतिअनुसार पार्टीका उम्मेदवार र गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउने अभियानमा सक्रिय हुनुपर्नेमा, त्यसको विपरीत पार्टीकै केही साथीहरूबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएको पाइएकाले तोकिएको समयभित्र त्यस्ता उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन् ।
साथै उनले पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि अपिलसमेत गरेका छन् । एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थितिप्रति आफू जानकार रहेको उल्लेख गर्दै सभापति देउवाले पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी’ भन्ने उच्चतम् भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठबन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन उनले आग्रह गरेका छन् । सभापति देउवाले देशभरका वालिग मतदाता स्थानीय तहमा आफ्ना प्रतिनिधि निर्वाचित गरी आगामी पाँच वर्षका लागि स्थानीय तह सरकारको नेतृत्व स्ुम्पन अत्यन्तै उत्साहका साथ सक्रिय रहेको उल्लेख गरेका छन् । पाँच वर्ष अगाडि भएको स्थानीय तह निर्वाचनमा निर्वाचित राजनीतिक दल र जनप्रतिनिधिको कार्यशैलीको समग्र मूल्याङ्कन गर्दै आगामी दिनमा थप योग्यता र निष्ठाको कसीमा खरो उत्रिने प्रतिबद्धताका साथ आफ्नो पार्टी र पार्टीले प्रस्तुत गरेका उम्मेदवार र एजेण्डाको पक्षमा सुदृढ जनमत तयार गर्न सम्पूर्ण पार्टीपङ्क्ति हार्दिक एकताका साथ जुटिरहेको उनले बताएका छन् ।
गठबन्धनको मर्म र भावनालाई पूर्णरूपमा परिपालना गर्न प्रचण्डको आग्रह
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच दलीय गठबन्धनमा रहेका र उम्मेदवारी दिएका उम्मेदवारलाई विजयी गराउनुपर्ने दायित्वबाट बिमुख नहुन आग्रह गरेका छन् । मध्यपुरथिमि नगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुख तथा उपप्रमुख उम्मेदवारलाई स्थानीय तह निर्वाचनका सन्दर्भमा आवश्यक निर्देशन दिदै उनले गठबन्धनको मर्म र भावनालाई पूर्णरूपमा इमान्दार भएर परिपालना गर्न आग्रह गरे । अध्यक्ष दाहालले चुनावी तयारीबारे बुझ्दै आवश्यक निर्देशन दिएको माओवादीका कन्द्रीय सदस्य डिपी ढकालले जानकारी दिए । गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार सुरेन्द्र श्रेष्ठ र उपप्रमुखका उम्मेदवार विजयकृष्ण श्रेष्ठसँग उनले ले आज छलफल गरेका छन् । अध्यक्ष दाहालले वर्तमान गठबन्धनको विरुद्धमा देशी–विदेशी शक्ति लागिरहेकाले उनीहरूको भ्रम र प्रहारलाई परास्त गर्दै एकढिक्का भएर चुनावी अभियानमा लाग्न निर्देशन दिएको नेता ढकालको भनाइ छ । अध्यक्ष दाहालले लोकतन्त्र र संविधान रक्षाका लागि जनताले गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्ने विश्वाससमेत व्यक्त गरे ।
देशैभर गठबन्धनको पक्षमा जनता खुलेर लागेको जानकारी गराउँदै उनले स्थानीय चुनावले प्रतिगामी र यथास्थितिवादीहरूलाई पाखा लगाउँदै लोकतान्त्रिक र अग्रगामी शक्तिलाई स्थानीय सरकारको साँचो सुम्पने दाबी गरे । व्यवस्था परिवर्तनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको नेतृत्वदायी भूमिका रहँदै आएको स्मरण गर्दै अध्यक्ष दाहालले वर्तमान गठबन्धन व्यवस्था रक्षाका लागि भएको र सम्पूर्ण मतदातालाई यो कुरा बुझाउनु आवश्यक भएको बताए । उनले मध्यपुरथिमिमा आफू पटक–पटक आइरहेको र यहाँको समस्याबारे जानकार रहेको भन्दै मध्यपुरलाई नमूना नगरपालिकाको रूपमा विकास गर्न आफ्नो र पार्टीको तर्फबाट सक्दो पहल गर्ने बताए । ‘अध्यक्षले अगाडि बढ, मध्यपुरलाई नमूना नगर बनाउन मेरो साथ रहन्छ भनेका उत्साहित भएर आएका छौँ’, उपप्रमुखका उम्मेदवार विजयकृष्ण श्रेष्ठले भने । मध्यपुरथिमिमा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठ नेपाली कांग्रेसका निवर्तमान नगर सभापति छन् भने उपप्रमुख उम्मेदवार विजयकृष्ण श्रेष्ठ माओवादी केन्द्रका नगर अध्यक्ष छन् ।