कांग्रेसले बागीमाथिको कारबाहीमा पुनः विचार गर्ने
News Desk
May-03 , 2022 तारिख 12:22 बेलुका

काठमाडौं – २० बैशाख २०७९ 

काठमाडौं, नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धतासहित सक्रिय रहने विद्रोही उम्मेदवारउपर पार्टी विधानबमोजिम हुने कारबाहीमा पुनः विचार गर्न सकिने जनाएको छ । कांग्रेसले सोमबारएक विज्ञप्तिमार्फत यही वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकको कारबाहीमा पुनः विचार गर्न सक्ने जनाएको हो । पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यले आफ्नो उम्मेदवारीप्रति पुनः विचार गरेर सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गराउन कांग्रेसले आग्रह गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन निर्देशानुसार अनुरोध गरिएको छ । उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले वैशाख १६ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म समय निर्धारण गरेको थियो । उक्त समयमा कतिपय स्थानीय तहका उम्मेदवार स्वयंले आफ्नो उम्मेदवारी फिर्ता लिएका र कतिपय उम्मेदवारको उम्मेदवारी प्राविधिक कारणवश फिर्ता लिएका÷गरिएका उम्मेदवारको नाम पनि उम्मेदवारको सूचीमा कायमै रहेको देखिएको कांग्रेसको भनाइ छ । विद्रोही उम्मेदवारी दर्ता गराएका र फिर्ता लिनुपर्ने समयावधिसमेत गुज्रिसकेको परिस्थितिमा त्यस्ता सदस्यको पार्टी सदस्यता स्वतः समाप्त भई पार्टीबाट निष्कासित हुने वैधानिक व्यवस्था रहेको सन्दर्भमा कांग्रेसले यो आग्रह गरेको हो । चुनावको परिणमले गठबन्धनमा असर गर्दैन ः देउवा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले स्थानीय तहको निर्वाचबाट आउने परिणामले गठबन्धनमा कुनै असर नपर्ने बताएकी छन् । सोमबार धनगढीमा पत्रकारसँग कुरा गर्दै देउवाले अहिलेको गठबन्धन विशेष परिस्थितीमा देशको रक्षा गर्न र संविधान जोगाउन बनेको भन्दै स्थानीय तह निर्वाचनको परिणामले गठबन्धनलाई कुनै असर नगर्ने बताइन् । 

‘चुनाव हारे पनि जीते पनि अहिलेको गठबन्धन निरन्तर चलिरहने छ,’ देउवाले भनिन्, ‘गठबन्धन टुटेमा देश फेरि संकटमा पर्ने निश्चित छ ।’ केन्द्रीय सदस्य देउवाले अहिलेको गठबन्धनका कारण संविधान जोगिएको भन्दै कुनै अप्ठ्यारो नमानि गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न मतदातालाई आग्रह गरिन् । ‘ओलीले संविधानलाईनै समाप्त पर्न खोजेका बेला त्यसलाई जोगाउन यो गठबन्धन बनेको हो,’ उनले भनिन्, ‘यसलाई सवै कार्यकर्ताले बुझ्नु पर्छ, धेरैले कुरा नबुझेका कारण समस्या भएको देखिन्छ ।’ देउवाले धनगढी उपमहानगरपालिमा गठबनधनका साझा उम्मेदवारलाई जीताउन समेत आग्रह गरिन् । नृपबहादुर वड ५ दलबाट साझा उम्मेदवारका रुपमा धनगढीको मेयरमा उम्मेदवार रहेको भन्दै उनले वडलाई जीताएर धनगढीको भविश्य शुनिश्चित गर्न आग्रह गरिन् । यस अघि वड धनगढीको मेयर हुँदा राम्रो काम गरेको भन्दै उनले फेरी पनि वडलाई नै मेयरमा जिताएर महानगरपालिकाको भविष्य कोर्न आग्रह गरिन् ।