आजदेखि कांग्रेसको चुनावी सभा, पहिलो सभा विराटनगरमा
News Desk
May-04 , 2022 तारिख 12:39 बेलुका

काठमाडौ – २१  बैशाख २०७९

काठमाडौ , नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको तयारीका लागि मुलुकका विभिन्न स्थान र समयमा खुला सभा आयोजना गर्ने तय गरेको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयानुसार आयोजना गरिएका सभाहरुमा पार्टीका सभापति, नेता एवं पदाधिकारीलगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्नेछन् । आज वैशाख २१ गते मोरङ (विराटनगर) मा हुने सभामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायत अन्य वक्ताहरूले सम्बोधन गर्ने पार्टी कार्यालयले जनाएको छ । यसैगरी वैशाख २२ गते चितवन (भरतपुर)मा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लगायत वक्ता तय गरिएको छ ।   

वैशाख २३ गते काठमाडौँमा हुने सभामा सभापति देउवा, नेता पौडेललगायत वक्ताहरू, वैशाख २४ गते रुपन्देही (बुटवल)मा हुने सभामा सभापति देउवा, नेता पौडेल, महामन्त्री गगनकुमार थापा, वैशाख २४ गते तनहुँ (दमौली)मा हुने सभामा सभापति देउवा, नेता पौडेल, प्रवक्ता डा प्रकाशशरण महतलगायत अन्य वक्ताहरू रहनेछन् । त्यस्तै वैशाख २४ गते धनुषा (जनकपुर)मा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्रीद्वय भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, वैशाख २५ गते कास्की (पोखरा)मा हुने सभामा सभापति देउवा, नेता पौडेल, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, वैशाख २५ गते दाङ (तुलसीपुर) मा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री किशोरसिंह राठौरलगायत अन्य वक्ताहरू तय गरिएको मुख्यसचिव पौडेलले बताए । यही वैशाख २६ गते कैलाली (धनगढी)मा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा वैशाख २७ गते डडेल्धुरामा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री बद्री पाण्डेलगायत अन्य वक्ताहरू निर्धारण गरिएको छ ।
कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय गठन 

नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय’ गठन गरेका छन् । उनले मंगलबार पार्टीका केन्द्रीय सदस्य नानु बाँस्तोलाको संयोजकत्वमा सचिवालय गठन गर्नुभएको पार्टी कार्यालयले जनाएको छ । सचिवालय सदस्यमा डा सुरेश आचार्य, डा प्रभु बुढाथोकी, राजेन्द्रप्रसाद पौडेल, कृष्ण केसी र गेजा शर्मा वाग्ले रहेका छन् । सचिवालयले समिति र उपसमितिहरुले गरेका निर्णयको कार्यान्वयन, पार्टीका विभिन्न साङ्गठनिक संरचनाहरुले निर्वाचनमा पार्टीको विजय अभियानलाई सफल बनाउन गरिरहेका कामको जानकारी लिने र संयोजकको परामर्शमा समन्वय र संयोजनसहित आवश्यक कार्य गर्नेछ । बागीलाई उम्मेदवारी निष्क्रिय गर्न आजसम्म समय नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई बुधबारसम्म आफ्नो उम्मेदवारी निष्क्रिय गर्न निर्देशन दिएको छ । गत शुक्रबारसम्म उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवारलाई बुधबारभित्र वक्तव्य निकालेर उम्मेदवारी निष्क्रिय गर्न निर्देशन दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । कांग्रेसले बागी उम्मेदवार र उनीहरूका प्रस्तावक तथा समर्थकलाई उम्मेदवारी निष्क्रिय गर्न निर्देशन दिएको हो ।  

‘आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक वनेका पार्टी सदस्यले आफ्नो उम्मेदवारीप्रति पुर्नविचार गरी सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गरिदिनु हुन र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन निर्देशानुसार अनुरोध गरिएको छ,’ मुख्यसचिव पौडेलले भने । कांग्रेसले यसअघि शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिनेलाई स्वतः पार्टीबाट कारबाही भएको मानिने चेतावनी दिएको थियो । चितवनलगायत केही जिल्लाका स्थानीय तहमा बागी उम्मेवारले उम्मेदवारी फिर्ता लिएका छैनन् । ‘२०७९ वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निस्कृय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिवद्धतासहित, सक्रिय रहने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक उपर पार्टी विधान बमोजिम हुने कारबाहीमा पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याई पुर्नविचार गर्न सक्नेसमेत सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ,’ कांग्रेसले भनेको छ ।