News Desk
काठमाडौं – २१ बैशाख २०७९
काठमाडौं , चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो नौ महिनामा सरकारले ७ खर्ब ९४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले पछिल्लो नौ महिनामा खर्च गरेको उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा खर्च गरेकोभन्दा १५.०३ प्रतिशतले बढी हो । यस वर्ष सरकारको चालु खर्च ६ खर्ब २५ अर्ब ५० करोड ८ लाख रुपैयाँ रहेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.६८ प्रतिशतले बढि हो । पछिल्लो नौ महिनामा सरकारको पूँजीगत खर्च १ खर्ब ३ अर्ब ७८ करोड ९६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १.९४ प्रतिशतले कम हो । बितेका नौ महिनामा वित्तीय व्यवस्था ६४ अर्ब ९६ करोड ५६ लाख रुपैयाँ रहेको छ । सरकारले चालु आर्थिक वर्षको लागि कूल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सरकारले चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि बजेटमा विनियोजन गरिएकोमध्ये आधा रकम पनि खर्च गर्न सकेको छैन ।
यस्तै चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो नौ महिनामा नेपालले १ खर्ब २६ अर्ब ७ करोड २४ लाख रुपैयाँको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । प्राप्त प्रतिवद्धतामध्ये अनुदान सहायता ९ अर्ब ४६ करोड २६ लाख रुपैयाँ र ऋण सहायता १ खर्ब १६ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ । जापान, स्वीट्जरल्याण्ड, विश्व बैंक, एसियाली विकास बैंक लगायतका दातृ राष्ट्र तथा निकायबाट उक्त प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । यसैगरी चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो नौ महिनामा सरकारले लक्ष्य गरेकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । अर्थ मन्त्रालयका अनुसार सो अवधिमा सरकारले कूल ८ खर्ब २७ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सरकारले ८ खर्ब ४३ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्षितमध्ये ९८.२७ प्रतिशत रकम संकलन गर्न सफल भएको अर्थले जनाएको हो ।
यसवर्ष संकलन भएको राजस्वमध्ये ७ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ कर राजस्व, ६१ अर्ब ४७ करोड रुपैयाँ गैरकर राजस्व र अन्य प्राप्ति ३८ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । नेपालमा हालसम्म स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने करदाताको सख्ंया साढे ४६ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार २०७८ चैत मसान्तसम्म कूल ४६ लाख ७४ हजार २०२ जनाले स्थायी लेखा नम्बर लिएका छन् । हालसम्म १७ लाख ५३ हजार ६४२ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २९ लाख ४ हजार ७७१ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर र १५ हजार ७८९ जनाले अग्रीम कर कट्टी प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन् ।