गठबन्धनप्रति नेकपा एस प्रतिबद्ध, साझा उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने
News Desk
May-04 , 2022 तारिख 01:01 बेलुका

काठमाडौँ – २१  बैशाख २०७९

काठमाडौँ , नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रीत गर्ने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मंगलबार बसेको सचिवालय बैठकले महानगरपालिकादेखि वडा तहसम्म गठबन्धनका साथै पार्टीकातर्फबाट एकल उम्मेदवारी दिएका व्यक्तिलाई जिताउन भूमिका निर्वाह गर्ने निर्णय गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए ।
गठबन्धन नभएका र एकल उम्मेदवार नभएका स्थानमा गठबन्धनका दलबीच सहमति कायम गर्न अन्तिम समयसम्म प्रयत्न गर्ने बैठकले निर्णय गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गर्दै पार्टीले हालै जारी गरेको घोषणापत्रमा पार्टीका उम्मेदवारले नेतृत्व गरेका स्थानमा स्थानीय सरकारमार्फत प्रत्येक घरपरिवारलाई २०० युनिटसम्म विजुली निःशुल्क दिने र यसका लागि सङ्घीय तथा प्रदेश तहका सरकारसँग आवश्यक समन्वय गर्ने उल्लेख छ । 

जनपक्षीय कार्यबारे सुसूचित गर्र्नुपर्छ’  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी)ले गरेका जनपक्षीय कार्यकाबारे सर्वसाधरण नागरिकलाई सुसूचित गर्नुपर्नेमा जोड दिइएको छ । पार्टीअन्तर्गत बागमती प्रदेश प्रचार विभागले आयोजना गरेको अन्तक्र्रियामा नेकपा (एकीकृत समाजवादी) स्थापना गर्नुपरेको कारणको यथार्थ प्रचार गर्नुपर्नेमा सहभागी वक्ताले सुझाए । पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेले मुलुकमा वर्तमान राजनीतिक व्यवस्थाका साथै संविधानको रक्षार्थ आफ्नो दलले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको ‘झुट प्रचार’ भइरहेकाले त्यसको खण्डन गर्नुपर्ने बताए । “जनपक्षीय कार्यबारे सबैलाई सुसूचित गर्नुपर्छ” उनले भने ।

बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालले स्थानीय निर्वाचनमा गठबन्धनको साझा उम्मेदवार विजय गराउनुपर्नेमा जोड दिँदै पार्टी र प्रचार विभागबीच समन्वयको खाँचो औंल्याए । प्रचार विभाग प्रमुख वसन्त मानन्धरले आसन्न निर्वाचनमा आफ्नो प्रदेशमा पार्टीका उम्मेदवारलाई विजयी गराउन घोषणापत्रलाई स्थानीय सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । पार्टी प्रचार विभाग सदस्य नवराज अर्याल, समाजवादी प्रेस सङ्गठनका उपाध्यक्ष नवराज छत्कुली र सङ्गठनका कोषाध्यक्ष कृष्णराज गौतमले गठबन्धनका साझा उम्मेदवारलाई सफल बनाउन संयुक्तरुपमा हुने प्रादेशिक गतिविधिलाई उपयोग गर्दै स्थानीय जनताको समस्या समाधानार्थ अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।