मेयर निर्वाचित भए व्यवस्थित र सफा काठमाडौं बनाउँछु : सिर्जना सिंह
News Desk
May-04 , 2022 तारिख 01:07 बेलुका

काठमाडौं – २१  बैशाख २०७९

काठमाडौं , काठमाडौं महानगरमा नेपाली काँग्रेसको तर्फबाट मेयर पदको प्रत्यासी सिर्जना सिंहले काठमाडौं महानगरवासीलाई ठूला सपना देखाउने भन्दा पनि व्यवस्थित र सफा काठमाडौं बनाउन प्रमुख भूमिका खेल्ने बताइन् । काठमाडौंका सडकमा गरिबले पानी खान र शौचालयसमेत जान नपाउने अवस्था रहेको बताउँदै मेयर निर्वाचित भएमा सजिलै यस्ता समस्या समाधान गरिने बताइन् । विकसित भएर पनि अव्यवस्थित भएको काठमाडौंलाई व्यवस्थित गर्ने उनले बताइन् । ‘काठमाडौं बनाउने जिम्मा हाम्रो काँधमा आएको छ, सोही कारण मलाई काठमाडौंको मेयरको रुपमा पार्टी र गठबन्धनले अगाडि सारेको छ,’ सिंहले भनिन् । काँग्रेसको कार्यकर्ता र सिपाही भएको बताउँदै आफू मेयरमा निर्वाचित भए घोषणापत्र अनुसार नै काम गर्ने बताइन् । शंकरदेव क्याम्पसका पूर्वविद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले आफ्नो राजनीतिको घर शंकरदेव भएको समेत बताइन् । 

शंकरदेव क्याम्पसको विकासमा सहयोग गर्ने उनले बताइन् । उनले आफू विरासतबाट नभई शंकरदेवबाट राजनीतिमा उठेको बताइन् । २०३३ सालमा गोर्खाबाट काँग्रेसको सदस्यता लिएको बताइन् । मंगलदेवीसिंहको परिवारबाट आएको महिला सदस्य भएकाले महिला र उत्पिडितको हितका लागि आफू मेयर बन्ने अभियानमा होमिएको बताइन् ।
‘भ्रष्टाचार मुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो,’ सिंहले भनिन् । जेष्ठ नागरिकको समस्या अत्याधिक रहेको बताउँदै उनले जेष्ठ नागरिक भवन वा खाली जग्गामा पार्क बनाउने बताइन् । यस्तै उनले ३२ वटै वडामा स्वास्थ्य प्रवर्धन केन्द्र र जेष्ठ नागरिक भवन बनाउने पनि बताइन् । काठमाडौं पानी खाने व्यवस्था समेत नरहेको बताउँदै उनले सार्वजनिक स्थलमा निःशुल्क खानेपानी र शौचालयको व्यवस्था गर्न बताइन् । उनले काठमाडौंको संस्कृति, सभ्यता र पुरातात्विक सम्पदाको संरक्षण गर्ने समेत बताइन् ।