गठबन्धनको चुनावी अभियान तीव्र, शीर्ष नेताहरु देशभरका चुनावी सभामा सम्बोधनमा व्यस्त
News Desk
May-08 , 2022 तारिख 11:23 बिहान

लुम्बिनी – २५   बैशाख २०७९ 

लुम्बिनी, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धन आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले वर्तमान गठबन्धन राष्ट्रिय आवश्यकता बनेको बताउँदै सङ्घीयता, गणतन्त्र र लोकतन्त्रलाई स्थायीरूपमा जोगाउन पनि गठबन्धन आवश्यक रहेको बताएका हुन् । नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनको भविष्यबारे कसैले पनि शङ्का नगर्न आग्रह गरे । प्रधानमन्त्री देउवाले यो गठबन्धनलाई टिकाएर लैजान निर्वाचनमा सबैले गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको पनि स्पष्ट गरे । उनले नेपाली कांग्रेसको महाधिवेशनले नै वर्तमान अवस्थामा गठबन्धन आवश्यक रहेको र यसलाई बलियो बनाएर चुनावमा जाने निर्णय गरेको धारणा पनि राखे । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विपक्षी राजनीतिक दलहरुले सरकारका कामको विरोध जनाउँदाबित्तिकै संसद् भङ्ग गर्ने गरेकाले उक्त कदमलाई रोक्नकै लागि गठबन्धन बनाइएकोसमेत स्पष्ट पारे । 

उनले जनताले पाँच वर्षका लागि बनाएको संसद्लाई प्रधानमन्त्रीको विरोध ग¥यो कि संसद् भङ्ग गरिदिने गरेको बताउँदै तर अहिलेको संविधानले जथाभावी संसद् भङ्ग गर्ने व्यवस्था नै नगरेको भएपनि उनले यसको हेक्का नराखेको आरोप लगानुभयो । प्रधानमन्त्री देउवाले भने, “लहडका भरमा संसद् भङ्ग गर्न संविधानले दिँदैन, अदालतले न्याय गरेर संसद् पुनःस्थापना गरिदियो तर, संसद् चल्न दिइएको छैन ।” प्रधानमन्त्री देउवाले अहिले कुनै पनि पार्टीको एकल सरकार बन्ने अवस्थाः नरहेको उल्लेख गर्दै संसदमा कसैको पनि बहुमत नरहेकाले पनि गठबन्धन आवश्यक रहेको बताए । त्यसैले पनि गठबन्धन वर्तमान अवस्थामा राष्ट्रिय आवश्यकता रहेको उनको तर्क थियो । उनले बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री देउवाले हालै संसद्बाट पारित भएको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) विनाब्याजको अमेरिकी अनुदानको परियोजना भएको स्पष्ट गर्दै संसदबाट एमसिसी पास भएपछि नेपाललाई अमेरिकाले दिने सहयोग थप बढ्दै जाने बताए ।

यस्ता अनुदान सहयोगका परियोजनाका काम राम्रोसँग पारदर्शी ढङ्गले भएमा अमेरिकालगायत धेरै मुलुकबाट समेत अनुदान सहयोग आउने उनको भनाई थियो । प्रधानमन्त्री देउवाले एमसिसीले सबैभन्दा फाइदा यसै क्षेत्रका जनतालाई हुने बताउँदै यो परियोजनाले बुटवलदेखि भालुवाङ हँुदै लमहीको दाङ देउखुरीसम्म अत्यन्तै बलियो, महत्वपूर्ण चौडा सडक छिटै नै बिस्तार हुने बताए । उनले देशैभरिका भूमिहीन, अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि सरकारले भूमि आयोग गठन गरेर आयोगले सक्रियतापूर्वक काम गरिरहेको र छिट्टै सुकुम्बासी समस्या समाधान हुने जानकारी गराए । प्रधानमन्त्री देउवाले बुटवलको समग्र विकासका लागि वर्तमान सरकार सदैव तयार रहेको बताउँदै बुटवलको समग्र विकास, सुकुम्बासी समस्या र सडकको समस्या समाधानका लागि गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह पनि गरे ।
जनता अब भ्रममा पर्नुहुँदैन : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका कारण नागरिकताको समस्या समाधान हुन नसकेको बताएका छन् । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरमा शनिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालले संसद् चले नदिएका कारण नागरिकताको समस्या समाधान नभएको बताएका हुन् । “एमालेले नै संसद् चल्न दिएको छैन । संसद्मा बहस हुन दिएको छैन । त्यसैले नागरिकताको समस्या समाधान गर्न ढिला भइरहेको छ । तर अब सदन खुल्नेबित्तिकै सबैभन्दा पहिले एमालेले माने पनि नमाने पनि नागरिकताको समस्या समाधान गर्नेछौ ।”
अध्यक्ष दाहालले बुवाआमाको नागरिकता भएर पनि छोराछोरीको नागरिकता प्राप्त गर्न नसक्नु लज्जास्पद अवस्था भएको उल्लेख गर्दै अदालतले अध्यादेश ल्याएर हैन संसद्को अधिवेशन भित्रैबाट छलफल गरेर नागरिकताको समस्या हल गर्न भनेको हुँदा अध्यादेश ल्याएर यसलाई समाधान गर्न नसकिएको स्पष्ट पारे ।

उनले यसलाई सदनबाट नै सम्बोधन गर्ने पनि बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहालले मधेसी जनताको अधिकारका निम्ति अन्तिमसम्म पनि सङ्घर्ष गरिरहने बताए । यसैगरी अध्यक्ष दाहालले मधेस र मधेसी जनताले सुखदुःखको साथी माओवादी केन्द्र नै भएको कुरा बुझिसकेको बताएका छन् । धनुषाको मिथिला विहारी नगरपालिकाको चुनावीसभालाई शनिबार सम्बोधन गर्दै उनले मधेसी जनताकै मत पाएर आफू दोस्रोपटक प्रधानमन्त्री बन्न सकेको बताए । उनले भने, “मधेसी समुदायले, बुद्धिजीवीले यो परिवर्तनको बाहक र जनताको सुःखदुःखको साथी माओवादी केन्द्र नै हो भन्ने अब सबैतिर नयाँ चेतना र जागरण आएको छ ।”

अध्यक्ष दाहालले २०७० को निर्वाचनमा मधेसबाटै लडेको र मधेसी जनसमुदायको मत पाएरै आफू निर्वाचित भएको बताए । उनले भने, “मैले २०७० को निर्वाचन मधेसबाटै लडें, मधेसी जनसमुदायको मत पाएरै निर्वाचित पनि भएँ र दोस्रोपटक प्रधानमन्त्री पनि मधेसी जनताको मतकै कारणले भएँ । अब हामी तेस्रो निर्वाचन प्रक्रियामा प्रवेश गर्दैछौँ, यो निर्वाचनमा मधेसले नयाँ रेकर्ड, नयाँ उदाहरण पेश गर्नुपर्नेछ ।” उनले कहीकतै कुनै भ्रममा नपर्न आह्वान गर्दै देशमा आमूल परिवर्तन माओवादीबाहेक अरुले ल्याउन नसक्ने दाबी गरे ।
गठबन्धन राष्ट्रिय आवश्यकता : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनलाई सफल बनाइने बताए । कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन स्थानीय तह निर्वाचनका लागि मात्रै नभई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म कायम रहने प्रधानमन्त्री देउवाले दाबी गरे ।

गठबन्धनलाई असफल बनाउने षड्यन्त्र भइरहेको भन्दै प्रधानमन्त्री देउवाले त्यस्ता तत्वलाई चुनावको मैदानबाट परास्त गर्ने जिकिर गरे । गठबन्धन सफल बनाउने कांग्रेसको एउटै मात्र लक्ष्य भएको देउवाको भनाइ थियो । प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव हुन्छ भन्ने कुरा कमैले पत्याएको भन्दै देश चुनावमा होमिएको बताए । “धेरैलाई चुनाव हुन्छ र भन्ने भ्रम थियो, तर देशमा चुनावको माहोल छ”, देउवाले भने । प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारबाट जनताले मुक्ति पाएको भन्दै केपी ओलीको नेतृत्वमा संसद् अवरुद्ध गरी सरकारलाई काम गर्न नदिइएको बताए ।
वर्तमान संविधान जोगाउन गठबन्धन : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधान जोगाउन र नेपालको विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । नेपाली काँंग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो धारणा राखेका हुन् । नेता पौडेलले नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाले शान्ति सम्झौतामा हस्ताक्षर गर्दा नै आफूले अलोकतान्त्रिकलाई लोकतान्त्रिक बनाएर शान्तिको बाटोमा ल्याएको भनेको स्मरण गर्दै त्यतिबेलादेखि नै कांग्रेसको माओवादीसँग गठबन्धन सुरु भएको बताए । समाजसेवी र जनताको घरघरमा पुग्ने व्यक्तिले चुनाव जित्ने गरी वातारवण सिर्जना गरेर राष्ट्र बचाउनुपर्ने शनिबारको मुख्य मुद्दा बनेको उनले बताए । उनले गठबन्धनका उम्मेदवारलाई मत दिएर लोकतन्त्रको रक्षा गर्न पनि मतदातालाई आग्रह गरे ।