मतको सुरक्षाका लागि चितवनको भरतपुर महानगरपालिकाको मतगणनास्थलमा फलामको तारजाली
News Desk
May-12 , 2022 तारिख 02:07 बेलुका

 चितवन,२९ वैशाख । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मतगणना गर्ने ठाउँमा मतको सुरक्षाका लागि चितवनको भरतपुर महानगरपालिकाको मतगणनास्थलमा फलामको तारजाली लगाइएको छ । फलामको तारजाली लगाइएको निर्वाचन आयोगले जनाएको छ । भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धन र विपक्षी दलले प्रतिष्ठाको विषय बनाएका छन् ।

उम्मेदवारका प्रतिनिधिले मतगणना गरेको हेर्न मिल्ने गरी फलामको तारजाली लगाइएको, मतगणना स्थलमा आठवटा सिसी क्यामरा जडान गरिसकिएको,  गणनास्थलमा चौविसै घण्टा विद्युत र इन्टरनेटको सुविधा उपलब्ध हुने निर्वाचन सूचना अधिकारीले जानकारी दिए । 

मतगणना हुने ब्लकको उत्तरतर्फको प्यासेजमा मतपत्र ल्याएर राखिनेछ । मतपत्र राखिएको प्यासेजको पछाडिपट्टि शौचालय छ । मतगणना गर्ने कर्मचारीले मात्रै उक्त शौचालय प्रयोग गर्ने पौडेलले जानकारी दिए ।

०७४ सालको मतगणनामा तत्कालिन मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने पिसाब गर्न शौचालय गएको बेला मतपत्र च्यातिएको थियो । दलका प्रतिनिधिका लागि मतगणना स्थलबाहिर छुट्टै शौचालयको व्यवस्था गरिएको छ ।

मतगणना हुने ब्लकको पश्चिमतिरको एउटा कोठामा पत्रकार बस्ने व्यवस्था गरिएको छ । पत्रकारले मुख्य गेटबाट फोटो र भिडियो लिनसक्ने सूचना अधिकारी पौडेलले बताए । मतगणना स्थलको सुरक्षाका लागि तीन तहको सुरक्षा व्यवस्था गरिएको र पर्याप्त सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।

भरतपुरको मतगणनाको नतिजा जेठ ५ गतेसम्म आउने अनुमान छ । २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२ मतदाता छन् । महानगरमा ६५ मतदानस्थल र २०२ वटा मतदान केन्द्र रहेका छन् ।