News Desk
काठमाडौँ । मुलुकभरका स्थानीय तहमा जनप्रतिनिधि छान्न मतदानका लगि १० हजार ७ सय ५६ मतदानस्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकिएका छन् । शुक्रबार बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ ।
मतदाताले एक–एक प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र चार सदस्य गरी ७ जना जनप्रतिनिधि चुन्न हरेक मतदाताले मतपत्रमा सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्छ । सदस्यतर्फ एक–एक महिला, दलित महिला र दुई खुला सदस्यलाई छाप लगाउनुपर्नेछ । मतपत्रको सबैभन्दा माथि राष्ट्रिय पार्टीको चुनाव चिह्न राखिएको छ । त्यसमुनि सम्बन्धित जिल्लामा सक्रिय पार्टीका चिह्न छन् । राजनीतिक दलको चिह्नपछि स्वतन्त्र उम्मेदवारको चिह्न राखिएको छ । ३६ जिल्लाको मतपत्रमा एक खण्ड मात्र छ भने बाँकी जिल्लाको मतपत्रमा दुई खण्ड छ । पहिलो ठाडो लहरमध्ये एउटामा अध्यक्ष/प्रमुखका लागि चिह्न राखिएको छ । अध्यक्ष/प्रमुखको चिह्न भएको माथि मतपत्र १ लेखिएको हुन्छ । मतपत्र १ को ठाडो लहरका चिह्नमध्ये एउटामा मात्रै छाप लगाउनुपर्ने हुन्छ । दोस्रो ठाडो लहरको मतपत्र २ मा उपाध्यक्ष/उपप्रमुखका उम्मेदवारको चिह्न हुनेछ । त्यसअन्तर्गत पनि एउटा चिह्नमा मात्रै छाप लगाउनुपर्ने हुन्छ ।
मतपत्र ३ मा वडाध्यक्षको चिह्न छ । यो लहरमा पनि एउटा चिह्नमा मात्रै छाप लगाउनुपर्छ । मतपत्र ४ मा महिला वडा सदस्य र मतपत्र ५ मा दलित महिला सदस्यको चिह्न हुन्छ । मतपत्र ४ र ५ मा पनि एक–एक चिह्नमा मात्रै छाप लगाउने हो । मतपत्र ६ मा दुई जना खुला वडा सदस्य छान्नका लागि हो । यसमा पहिलो सदस्यका लागि एउटा चिह्न र दोस्रोका लागि दुई वटा चिह्न दिइएको हुन्छ । दुइटा चिह्न हुँदैमा दुई छाप लगाउनु हँुदैन । एउटा कोठामा एउटा मात्रै छाप लगाउनुपर्ने हुन्छ । ठाडो लहरमा एक–एक छाप लगाएर पनि प्रतिनिधि चयन गर्न सकिन्छ । एउटा दलको पहिलो सदस्य र अर्को दलको पनि पहिलो सदस्य मन पर्यो भने तल–माथि छाप लगाउन सकिन्छ । एउटा दलको दोस्रो सदस्य र अर्को दलको दुई वटा चिह्न भएको दोस्रो सदस्यमा पनि छाप लगाउन सकिन्छ । तेर्सोमा एउटा–एउटा छाप लगाए पनि हुन्छ ।
मतदान अधिकृतले मतपत्र दिएपछि गोप्य मतदानस्थलमा जानुपर्ने हुन्छ । त्यहाँ स्वस्तिक छाप र स्ट्याम्प राखिएको हुन्छ । मतपत्रमा स्वस्तिक छाप नै लगाउनुपर्ने हुन्छ । पहिला छाप लगाएको चिह्नमा मसी अलि गाडा हुन सक्छ । मसी कम भयो भने फेरि स्वस्तिकलाई स्ट्याम्प प्याडमा चोब्नुपर्छ । मतगणना गर्दा स्पष्ट हुने गरी चिह्नमा छाप लगाउनुपर्छ । मतपत्र पट्याउँदा स्वस्तिक छाप लगाएको ठाउँ पछिल्लो सेतो भागमा पार्नुपर्छ । चिह्नमा भएको मसी सेतो भागमा पर्दा मत बदर हुँदैन । मतदानस्थल छिर्नुअघि नै कसलाई मत दिने भन्नेमा मतदाता स्पष्ट हुनुपर्छ । हतार नगरी बिस्तारै मतदान गरे बदर हुने सम्भावना कम हुन्छ ।
यसपालिको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनालाई मताधिकार छ । मतदान केन्द्रमा परिचयपत्र लिन पुगेका मतदातालाई मत हाल्ने र मतपत्र पट्याउने तरिका सिकाउने गरिन्छ । मतदाता नामावलीमा नाम भएकाले मात्र मतदान गर्न पाउनेछन् । मतदाता नामावलीमा नाम नभएको व्यक्तिले कुनै पनि हालतमा मतदान गर्न सक्ने छैन ।
निर्वाचन आयोगले मतदाताले पालना गर्नुपर्ने नियमसमेत जारी गरेको छ । मताधिकारबारे आफूलाई जानकारी भएको विषय अन्य मतदातालाई जानकारी गराउने, मतदानस्थलमा होहल्ला नगर्ने, कुनै दल वा उम्मेदवारको नाम, निर्वाचन चिह्न वा संकेत भएको पहिरन, परिचयपत्र र ब्याज लगाउन नहुने आयोगले जारी गरेको मतदाताको कर्तव्यमा उल्लेख छ । त्यसमा मतदानको दिन सवारीसाधन प्रयोग गरी आउजाउ गर्न नहुने, अर्काका नामबाट मतदान गर्न नहुने, एकभन्दा बढी पटक मतदान गर्न नहुने, मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न नपाइने उल्लेख छ । मतदानका बेला मतपत्र सार्वजनिक गर्न, फोटो खिच्न पनि प्रतिबन्ध लगाइएको छ । कुनै व्यक्तिले आफ्नो नाम ढाँटेर अर्को मतदाताका नाममा मतदान गर्न मतपत्र लिन आए उम्मेदवार र दलको प्रतिनिधिले एक सय रुपैयाँ धरौटी राखेर कारबाहीको माग गर्न सक्ने व्यवस्था छ । छानबिन गर्दा नाम ढाँटेर मतदान गर्न आएको पाइए तत्काल २५ हजार रुपैयाँसम्म जरिवाना गर्न पाउने अधिकार मतदान अधिकृतलाई दिइएको छ । मतदान केन्द्रमा मतदाता, उम्मेदवार, निर्वाचन प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, महिला मतदाताका साथमा पाँच वर्षका बालबालिका, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्य मात्रै जान पाउनेछन् । मतदान केन्द्रभित्र मोबाइल, क्यामरा तथा फोटो खिच्ने सामग्री लैजान पाइने छैन ।