यूएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद अल नाह्यान चयन
News Desk
May-14 , 2022 तारिख 05:47 बेलुका

यूएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद अल नाह्यान चयन 

युएई  । संयुक्त अरब एमिरेट्स (यूएई) का नयाँ राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद अल नाह्यान चयन भएका छन् । यूएईका राष्ट्रपति तथा अबुधाबीका राजा शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएपछि उनका सौतेनी भाइ नयाँ राष्ट्रपति चयन भएका हुन । 

खलिफा बिन जायदको हिजो शुक्रवार निधन भएकोमा यूएईको सङ्घीय सर्वोच्च परिषद्ले आज शनिवार शेख मोहम्मद बिन जायदलाई राष्ट्रपति चुनेको हो । खलिफा बिन जायद सन् २०१४ मा हृदयाघातका कारण हिँडडुल गर्न नसक्ने गरी थलिएपछि शेख मोहम्मद बिन जायाद अल नाह्यानले राजकाजको कार्यकारी भूमिका सम्हाल्दै आएका थिए ।  

मोहम्मद बिन जायाद सन् १९७१ मा अरब प्रायद्वीपमा रहेका सात वटा स–साना एमिरेट मिलेर गठन भएको संयुक्त अरब एमिरेट्सको तेस्रो राष्ट्रपति बनेका छन् । यूएईको शासनका लागि सात सदस्य एमिरेटका राजा सम्मिलित रहने सङ्घीय सर्वोच्च परिषद् निर्माण गरिएको छ । युएईको ७० प्रतिशत भन्दा बढि भुभाग अबुधावीले ओगटेको  छ ।  यूएईमा सम्मिलित सातमध्ये सबैभन्दा ठूलो एमिरेट अबुधावीका राजा स्वतः यूएईको राष्ट्रपति हुने व्यवस्था छ । त्यस्तै दोस्रो ठूलो एमिरेट्स दुबईका राजा युएईको प्रधानमन्त्री छन् ।