News Desk
काठमाडौं । देशमा रहेका ६ वटा महानगरपालिकामध्ये एउटामा पनि नेकपा एमालेका उम्मेदवारले अग्रता लिन सकेका छैनन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा दुई वटा महानगरपालिकाको प्रमुख जितेको एमालेले अहिले ती महानगरपालिकामा पनि अग्रता लिन सकेको छैन ।
हालसम्मको मतगणना अनुसार काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका, विराटनगर महानगरपालिका र विरगन्ज महानगरपालिकाको प्रमुख पदमा एमालेका उम्मेदवार अग्रस्थानमा आउन सकेका छैनन् ।
हालसम्मको मतगणना अनुसार ६ वटा महानगरपालिकाको प्रमुखमध्ये दुई वटामा नेपाली कांग्रेस, एउटामा नेकपा (माओवादी केन्द्र), एउटामा नेकपा (एकीकृत समाजवादी), एउटामा जनता समाजवादी पार्टी, नेपाल र एउटामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।
काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याउँदै गरेका छन् ।
ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् । ललितपुरमा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले पछ्याउँदै गरेका छन् ।
पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवारले पछ्याउँदै गरेका छन् ।
भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । उनलाई एमालेका उम्मेदवार विजय सुवेदीलेपछ्याइरहेका छन् ।
विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन् । दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार सागरकुमार थापाले पछ्याइरहेका छन् ।
विरगन्जमा महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार राजेशमान सिंहले अग्रता लिएका छन् । उनलाई एमालेका उम्मेदवार विजयकुमार सरावगीले पछ्याइरहेका छन् ।
प्रारम्भीक मतगणनामा ६ वटै महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।