स्वतन्त्र व्यक्तिलाई जिताएर काठमाडौंवासीले परीक्षण गर्न खोजे : सांसद मानन्धर
News Desk
May-19 , 2022 तारिख 04:54 बेलुका

काठमाडौँ  । नेकपा एमालेका सांसद रामवीर मानन्धरले स्वतन्त्र व्यक्तिलाई जिताएर काठमाडौंवासीले परीक्षण गर्न खोजेको बताएका छन् हुन् । बिहीबार प्रतिनिधिसभा बैठकका लागि संसद् भवन पुगेका मानन्धरले काठमाडौं महानगरपालिकामा विगत पाँच वर्षमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती मौलाएका कारण जनताले राजनीतिक दलहरुलाई भोट नदिएको बताएका हुन् ।  

‘पाँच वर्षसम्म जनताले के सोचे भने आफ्नो केही काम परेर वडामा जाँदाखेरी त्यहाँ ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता सबै काममा दुःख पाए सबै जनताले । अनि पार्टीका मान्छेहरुले हामीलाई दुःख दियो भन्ने एउटा जनतामा मैले सुनेको आभाष पाएँ । त्यसकारणले यो पार्टीमा लागेका वडा अध्यक्ष, मेयरहरुले दुःख दिएको कारणले गर्दाखेरी एकपटक हेरौँ न त पार्टीभन्दा स्वतन्त्र कस्तो हुँदोरहेछ भनेर टेस्टको रूपबाट गरेको जस्तो मलाई लाग्यो,’ मानन्धरले भने ।

मानन्धरले अगाडि भने, ‘दुई, चार जनाको भोट हो र अन्तर्घात भनेको । दुई, चार सयले हारजित भएको हो र ? त्यसकारण हजारौँ होइन लाखौँ जनताको मतलाई अन्तर्घात भनिन्छ भने अन्तर्घात स्वीकार्नुपर्छ फेरि ।’

लाखौँ जनताले स्वतन्त्र उम्मेदवारलाई मत दिइसकेपछि त्यसलाई पार्टीभित्रको अन्तर्घातको कारण त्यसो भएको भन्न नमिल्ने उनले बताए ।