सौन्दर्य प्रतियोगिताको नाममा भएको गैरपेशागत कृयाकलाप प्रति कार्यक्रम व्यवस्थापक संघको गम्भिर ध्यानाकर्षण
News Desk
May-21 , 2022 तारिख 01:07 बेलुका


काठमाडौं ।  सौन्दर्य प्रतियोगिताकी एक  सहभागी आयोजकबाट बलात्कृत भएको भन्ने खबर सार्वजनिक भएसँगै   कार्यक्रम व्यवस्थापक संघले प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रतियोगी उपर घटेको घटनाले संघ मर्माहत बनेको उल्लेख गर्दै संघले सुन्दरी प्रतियोगिताका नाममा हुने यस्ता जघन्य अपराध  र कुकृत्यको सदैव घोर निन्दा, भर्त्सना र विरोध गर्ने बताएको छ । ‘गैर जिम्मेवारपूर्ण यस कृयाकलापले समग्र इभेण्ट क्षेत्रलाई बदनाम गराएको हाम्रो ठम्याई छ । पेशागत मुल्य मान्यता विपरितका यस्ता कार्यले समाजलाई भ्रष्टिकरण गर्दै अपराध कर्मलाई प्रोत्साहन मिल्ने हुँदा यस्ता अवान्छनिय गतिविधिको नियन्त्रणका लागि संघ सदैव सजग र सचेत रहेको अवगत गराउन चाहन्छौ ।’ संघले भनेको छ ’त्यसो त यस्ता अपराध कर्मलाई अगाल्नु  भनेको आफनै पेशा प्रति गैरजिम्मेवार र अराजक बन्नु हो ।  जसले समग्र सौन्दर्य प्रतियोगिताको क्षेत्रलाई बदनाम बनाउनुका साथै पेशागत साँख र प्रतिष्ठा समेतमा आँच ल्याउने  कार्य गर्दछ । सन् २०१४ मा भएको भनेर उजागर भएको यस घटनाले इमान्दार र पेशागत रुपमा प्रतिबद्ध तमाम सौन्दर्य  प्रतियोगिता आयोजकहरुलाई हतोत्साहित तुल्याउनुका साथै मनोबल गिराएको आभाष संघले गरेको छ ।’ ।  

साथै, संघले बिशेषत: यसो हुनुमा गैर पेशागत व्यक्ति र कम्पनी/ संस्थाको प्रवेश कारकका रुपमा रहेको निष्कर्ष निकालिएको उल्लेख गर्दै अगाडि भनेको छ ’पिडक संचालक रहेको भनिएको आयोजक संस्था यस कार्यक्रम व्यवस्थापन संघको सदस्य समेत नरहेको सम्बन्धित सबैको जानकारीका लागि सविनम्र अनुरोध गर्दै हाम्रो प्रारम्भिक अनुसन्धानले उक्त नामको कम्पनी वैदेशिक शिक्षा परामर्श दिने प्रयोजन सहित स्थापना भएको भन्ने खुल्न आएको अवगत गराउन चाहन्छौ ‘ ।  
पिडक भनिएका व्यक्तिले संचालन गर्दै आएको उक्त कम्पनीले गैरकानुनी ढङ्गले सौन्दर्य   प्रतियोगिता संचालन गर्दै आउनु कानुनी शासनकै उपहास भएको बताउदै संघले  कानुन विपरित हुने यस्ता कृयाकलापको नियमन गर्ने निकाय बारे  स्पष्टता कायम हुन नसक्दा धमिलो पानीमा माछा मार्ने प्रब्रित्ति बढदै गएको  अनुभव गरेको जनाएको छ ।  आवश्यक कानुनी कार्वाहीका लागि माग गर्दै संघले भनेको छ ’यस्ता गैर पेशागत कार्यमा संलग्न उपर अनुसन्धान गरि कानुनले निर्दिष्ट गरे अनुरुप अबिलम्ब कार्वाहीको प्रकृयालाई अघि बढाउन र कानुन बमोजिम पिडितलाई न्याय एवम्  क्षतिपुर्ती दिलाउन समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौ’ ।