News Desk
यौन दुर्व्यवहार आरोप लागेका सुन्दरी प्रतियोगिता आयोजक मनोज पाण्डे पक्राउ
किशोरीमाथि यौन दुर्व्यवहार आरोप लागेका सुन्दरी प्रतियोगिता आयोजक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।
आठ वर्षअघि भएको भनिएको उक्त यौन हिंसाको घटना सार्वजनिक भएसँगै प्रहरीले पाण्डेसहितलाई खोजी थालेको थियो।
सुन्दरी प्रतियोगिताका आयोजकमध्ये एकजना उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार पक्राउ गरेको हो।
सुन्दरी प्रतियोगितामा भाग लिँदा यौन हिंसामा परेकी किशोरीको घटना अनुसन्धान गर्न नेपाल प्रहरीले ५ सदस्यीय समिति बनाएको भोलिपल्ट पाण्डे समातिएका हुन्।
उपत्यका प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरको नेतृत्वमा समिति बनेको थियो। महाशाखाको टोलीले उनलाई हिरासतमा लिएको हो।
प्रहरी प्रधान कार्यालयले शुक्रबार कुँवरको नेतृत्वमा बनाएको समितिमा एसपी कृष्णप्रसाद कोइराला, डीएसपी कोपिला चुँडाल, डीएसपी हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का थिए।
८ वर्षअघि यौन हिंसामा परेकी भनिएकी ती किशोरीले आफूलाई परेको अन्यायबारे सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेकी थिइन्।
शुक्रबार अपरान्ह एसपी कोइरालासहितको टोली किशोरीलाई भेटेर फर्किएको थियो।