कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेविरुद्ध अर्की युवतीले पनि लगाईन यौन दुर्व्यवहारको आरोप
News Desk
May-22 , 2022 तारिख 07:12 बेलुका

काठमाडौं ।  सौन्दर्य प्रतियोगितामा सहभागी किशोरीलाई बलात्कार तथा यौन दुर्व्यवहारको अभियोगमा प्रहरी हिरासतमा रहेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेविरुद्ध अर्की युवतीले पनि आफुलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । आरोप सहित ती किशोरी पनि प्रहरी सम्पर्कमा पुगेकी छन्। पाण्डेले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै नाबालिग किशोरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जानकारी गराएकी हुन्।

काठमाडौंकी बासिन्दा ती किशोरी नाबालिग हुन्। प्रहरीसँगको परामर्शपछि उनले पाण्डेविरुद्ध जाहेरी दिएर कानुनी प्रक्रिया जाने तयारी गरेकी छन्।  

उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतकाअनुसार पाण्डे पक्राउ परेपछि ती किशोरी आफै प्रहरी सम्पर्कमा आएकी हुन्।

८ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा आयोजक पाण्डेले आफूलाई बेहोस बनाएर बलात्कार गरेको र ब्ल्याकमेलिङ गरेर ६ महिनासम्म यौन शोषण गरेको भन्दै एक युवतीले भिडियोमार्फत घटना विवरण सार्वजनिक गरेपछि प्रहरीले शनिबार पाण्डेलाई स्वयम्भु क्षेत्रबाट नियन्त्रणमा लिएको थियो।

उनीविरुद्ध मानव बेचविखन तथा ओसारपसार कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ। पाण्डेलाई सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर अनुसन्धानका लागि म्याद थप गराउने अपराध अनुसन्धान कार्यालयले जनाएको छ।