१५ वर्षको हुँदा पटक-पटक बलात्कृत भएको इटहरीबाट एक युवतीको खुलासा
News Desk
May-22 , 2022 तारिख 10:15 बेलुका

 

काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा आयोजकले प्रतियोगीलाई बलात्कार गरेको घटना सार्वजनिक भएसँगै अन्यले समेत आफु  बलात्कार र यौन हिंसामा परेको बताउन थालेका छन् । घटना बारे  प्रकाश पार्दै थप पीडितहरुले पुरानो घटना उजागर गर्न थालेका हुन ।

शनिबार इटहरीकी एक युवतीले आफू १५ वर्षको हुँदा ब्लूमिङ लोटस इङ्लिस स्कुलका तत्कालीन प्रिन्सिपल राज खड्काले पटक-पटक बलात्कार गरेको खुलाएकी हुन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत घटना विवरण सार्वजनिक गरेकी हुन ।  उनले २०७२/०७३ सालतिर विद्यालयको होस्टलमा बसेर कक्षा ९ मा पढिरहेका बेला पहिलो पटक घटना घटेको खुलासा गरेकी छन् ।


‘होस्टलमा बसेका वेला मेरो छातीमा समस्या देखियो, त्यसको उपचार गर्न विदेशबाट बुबाले प्रिन्सिपलको खातामा पैसा पठाउनु भएको थियो’ उनले भनेकी छन्, ‘बुबाले मलाई प्रिन्सिपलसँग सिधै अस्पताल जान भन्नुभएको थियो, तर उसले अस्पताल लैजानुको साटो मलाई होटल लग्यो ।’


बुबाआमाको अगाडि उनको धेरै ख्याल गरेजस्तो गरेर प्रिन्सिपलले घरपरिवारको पनि विश्वास जितेको उनको भनाइ छ । तर त्यहि विश्वासको आडमा अस्पताल लैजान्छु भनेर उनले होटलमा ‘स्कूलको पोशाक च्यातेर बलात्कार’ गरेको पीडितको भनाइ छ ।

‘उसले मलाई केही खान भन्यो, मैले मानिन । म डराइरहेको थिएँ, पसिना आइरहेको थियो’ उनले भनेकी छन्, ‘उसले मलाई यता आउ यहाँ गर्मी हुँदैन भनेर कोठातिर जान भनेको थियो, म त्यतिवेला १५ वर्षकी थिएँ ।’

कोठामा गएपछि उनले ताला ढोका लगाएर जबरजस्तीकरणी गरेको उनको भनाइ छ । ‘उसले यसको भिडियो पनि बनाएको थियो र मलाई पटकपटक त्यो भिडियो देखाएर ब्ल्याकमेल गरेको थियो’ उनले भनेकी छन्, ‘एसईई दिउञ्जेलसम्म उसले बाथरुम, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ भेटे पनि मलाई बलात्कार गर्‍यो ।’