ग्याँसको आयात रोक्न पालिकावासीलाई इन्डक्सन चुल्हो
News Desk
May-25 , 2022 तारिख 01:05 बेलुका
स्याङ्जा ११─  जेठ २०७९
स्याङ्जा, दैनिक उपभोग्य वस्तु ग्याँसको मुल्य आकासिएको बेला कालीगण्डकी गाउँपालिकाले निशुल्क इन्डक्सन चुल्हो प्रदान गर्ने भएको छ । स्थानीय तह २०७९ को निर्वाचनबाट नवनिर्वाचित गाउँपालिका अध्यक्षले पदभार कार्यक्रममा पालिकावासीलाई निशुल्क इन्डक्सन चुल्हो वितरण गर्ने निर्णयलाई आगामी गाउँसभाबाट पास गरेर लागू गर्ने बताउनुभयो ।

देशकै ठुलो कालीगण्डकी जलविद्युत्त आयोजना यहि पालिकामा परेका कारण पनि विधुत्तीय खपत बढाउँदै ग्याँसको विस्थापन गर्न इन्डक्सन चुल्हो वितरण गरीने भएको हो । यो कार्यक्रम लागू हुँदा करिब ४६०० घर प्रत्यक्ष लाभान्वित हुनेछन् ।  यसअघि पनि थापाकै नेतृत्वमा गाउँपालिकाभित्र २० युनिटसम्मको न्युनतम विद्युत्त महशुल निशुल्क गरिएको थियो । 

यति मात्र होइन पालिकाभित्रका सबै नागरिक तथा कर्मचारीको स्वास्थ्य विमाको प्रीमियम समेत पालिकाले तिर्ने भएको छ । यस्तै यहाँका प्रत्येक युवाहरुलाई आलमदेबी बहुप्राविधिक शिक्षालयमार्फत अनिवार्य सीपमूलक कक्षा संचालन गरेर रोजगारीको अवसर सिर्जना गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले दोस्रो पटक यस पालिकाको जिम्मेवारी पाएको र पदभार ग्रहण गरेकै दिन जनमुखी कार्यक्रम लागू गरेकोमा पालिकावासी खुसी छन् ।