News Desk
फ्रान्स – १२ जेष्ठ २०७९
फ्रान्स, फ्रान्समा मंकिपक्स भाइरस विरुद्ध खोप अभियान संचालन गरिने भएको छ । विश्वका धेरै देशमा मङ्कीपक्सको संक्रमण देखिएपछि यस विरुद्धको खोप अभियान संचालन गरिने भएको हो ।फ्रान्सको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले मङ्कीपक्स विरुद्ध अति छिटो सतर्कता अपनाउँदै प्रतिरोधात्मक तथा उपचारात्मक उपायलाई प्राथमिकता दिने रणनीति अनुसार खोप अभियान चलाउने निर्णय गरेको हो ।
फ्रान्समा यो घोषणा हुँदासम्म तीन जनामा मात्रै मङ्कीपक्सको सङ्क्रमण देखिएको छ । तर संक्रमण फैलिन सक्ने उच्च खतरा रहेको निष्कर्षसहित अभियान सुरु गरिएको अधिकारीहरूले जनाएका छन् । प्राधिकरणले जारी गरेको प्रेस वक्तव्यमा वयस्क र स्वास्थ्यकर्मीहरु यसको जोखिममा रहेकाले खोप पनि उनीहरुलाई केन्द्रित गर्ने उल्लेख गरिएको छ । सङ्क्रमित भएको व्यक्तिसँग ४ दिनदेखि १४ दिनसम्मको अवधिमा भौतिक सम्पर्क हुनु जोखिमपूर्ण भएकाले त्यही बेलामा खोप लगाउने व्यवस्था गर्न लागेको जनाइएको छ ।
प्राधिकरणका अधिकारीहरूले खोपको आवश्यकता परेको व्यक्तिलाई दुई वा तीन डोजको आवश्यकता पर्ने पनि जानकारी दिएका छन् । विश्वका धेरै देशमा मङ्कीपक्सका सङ्क्रमितहरू फैलिदै गएपछि नयाँ त्रास सृजना भएको हो । कतिपय देशहरुले यस बारेमा सतर्कता अपनाउन थालिसकेका छन् ।-