मासिक व्यापार घाटा १ खर्ब ४३ अर्ब चालु आर्थिक वर्षको १० महिनामा २४.९४ प्रतिशतले बढेर १४ खर्ब ३१ अर्ब ३० करोड रूपैयाँ पुग्यो
News Desk
May-26 , 2022 तारिख 12:53 बेलुका

काठमाडौँ —─ १२ जेठ २०७९  

 काठमाडौँ , आयात नभई नहुनेदेखि स्वदेशमै पर्याप्त उत्पादन हुन सक्ने वस्तुको आयात बढ्दा व्यापार घाटा चुलिँदै गएको छ । चामल, मकै, तरकारी, दुग्धजन्य पदार्थ, माछामासुलगायत कृषिजन्य वस्तुमा समेत परनिर्भरता हुँदा मासिक व्यापार घाटा औसतमा १ खर्ब ४३ अर्ब पुगेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा मुलुकको व्यापार घाटा २४.९४ प्रतिशतले बढेर १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । जबकि गत वर्ष सोही अवधिमा व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ थियो । जानकारका अनुसार मुलुकभित्र गुणस्तरीय र प्रतिस्पर्धी वस्तु उत्पादन हुन नसक्दा आयात बढेको हो ।

कृषिसँगै विलासिताका वस्तुको समेत तीव्र आयातले घाटा चुलिएको छ । यही क्रमले बढिरहे वार्षिक व्यापार घाटा १८ खर्ब पुग्ने पूर्वउद्योग वाणिज्य तथा आपूर्ति सचिव चन्द्र घिमिरेले बताए । ‘घाटा तीव्र रूपमा बढिरहँदा नियन्त्रणको प्रयास प्रभावकारी देखिँदैन । स्वदेशी वस्तुको उत्पादन वृद्धि र प्रतिस्पर्धी बनाउने नीति देखिएन,’ उनले भने । विभागका अनुसार चालु आवको १० महिनामा आयात २७.९५ प्रतिशतले बढेर १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । जबकि गत वर्षको सोही अवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँको आयात भएको थियो । त्यस्तै, निर्यात ५९.८० प्रतिशत बढे पनि रकमको हिसाबले न्यून छ । चालु आवको १० महिनामा १ खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । गत आवको सोही अवधिमा १ खर्ब ८ अर्ब ४७ करोड रुपैयाँको निर्यात भएको थियो । पूर्वसचिव घिमिरेका अनुसार उत्पादन, निर्यात र प्रतिस्पर्धी बनाउन मुख्यतः ४ तरिकाहरू छन् । पहिलो आयात प्रतिस्थापन नै हो । दोस्रो, स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाएर उपभोग बढाए आयात घटाउन सकिन्छ ।

‘सस्तो र गुणस्तरीय उत्पादनका लागि ‘मेक इन नेपाल’ लाई प्राथमिकता दिई उत्पादित वस्तुलाई प्रतिस्पर्धी बनाउन प्याकेज दिनुपर्छ,’ घिमिरेले भने । त्यस्तै, व्यापार घाटा कम गर्न तुलनात्मक लाभका वस्तुलाई पुनरावलोकन गर्नुपर्ने उनले बताए । सरकारले ती वस्तुमार्फत व्यापार घाटा घटाउने भनिए पनि घाटा बढ्दो क्रममा छ । ती वस्तुहरूको उत्पादन र निर्यात प्रतिफल राम्रो छैन । तसर्थ, लाभका वस्तु पुनरावलोकन गर्दै सोहीअनुसार नीति तय गर्नुपर्ने घिमिरेको भनाइ छ । ‘एफडीआईसहितको लगानी ल्याउने, एफडीआई आउँदा पैसासँगै प्रविधि पनि आउँछ,’ घिमिरेले भने, ‘त्यस्तो तरिका आयात व्यवस्थापन हो ।’

अहिले बजारमा खुला रूपमा कमसल र उत्पादन लागतभन्दा सस्तो वस्तु भित्रिन्छ । ती वस्तुहरू नेपालमा डम्पिङ भइरहेको छ । ‘तर, हाम्रो वस्तु विदेश पठाउँदा प्राविधिक परीक्षण, गुणस्तरको प्रमाणपत्र भए मात्रै निर्यात गर्न पाइन्छ,’ उनले भने, ‘वस्तु आयात गर्दा नियमन पनि हुनुपर्छ । सीमा क्षेत्रमा निरीक्षणमार्फत कृषि र उद्योगको संरक्षण गर्न सकिन्छ ।’