News Desk
काठमाडौं ─ १५ जेठ २०७९
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका–२०७९ का अवसरमा ८१८ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छन् । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा जारी गरेको प्रेस विज्ञप्तिमा खड्ग श्रेङ लिम्बू समेतका २७१ र नरबहादुर साँवा समेतका ५४७ गरी कूल जम्मा ८१८ कैदीको बाँकी कैद सजाय मिनाहा गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतका आदेशसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका व्यक्तिलाई माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रिपरिषद्को यही जेठ १० गते बसेको बैठकको सिफारिसमा जेठ १५ गतेदेखि लागू हुने गरी माफी मिनाहा गरिएको हो । त्यस्तै राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसकै अवसरमा मन्त्रिपरिषद्को यही जेठ १३ गतेको बैठकको सिफारिसमा उमाकान्त पराजुलीसमेतका १६ कैदीको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम कैद माफी गरेकी छन् । नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस–२०७९ का अवसरमा उनले उक्त माफी गरेकी हुन् । सभामुख सापकोटा समक्ष अर्थमन्त्री शर्माद्वारा बजेट ‘ब्रिफिङ’
सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका सम्बन्धमा जानकारी लिएका छन् ।
शनिबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख सापकोटा समक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराएका हुन् । सभामुख सापकोटाले सङ्घीय संसद्को बजेटसँग जोडिएका अन्य विषयमा अर्थमन्त्री शर्मालाई स्मरण गराएका थिए । सो अवसरमा सङ्घीय संसद्का महासचिव डा भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, अर्थ सचिव मधुकुमार मरासिनी लगायतको उपस्थिति थियो ।