News Desk
पोखरा ─ १५ जेठ २०७९
पोखरा, पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ । करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ ।
नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन ।
जहाज बेपत्ता अपडेटः १९ यात्रु लिएर उडेको थियो
जोमसोमका लागि पोखराबाट तारा एयरको ट्वीनअटर विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको छैन । विमानस्थलका अनुसार जहाजमा १९ यात्रु थिए ।
अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । एउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका कारण उड्न नसकेको बताइएको छ । अहिले यो रुटमा बादल लागिरहेको बताइएको छ । यसअघि बिहान समिट एयरको २ जहाज जोमसोम पुगिसकेको थियो ।
बेपत्ता जहाज अपडेटः को को थिए जहाजमा ?
पोखराबाट उडेर बेपत्ता भएको जहाजमा चालक दलसहित २२ जना रहेको खुलेको छ । चालक दलका तीनसहित १९ यात्रु गएको विमानस्थलले जनाएको छ । विमानमा ६ विदेशी सहित १९ जना यात्रु रहेका थिए । जसमा १३ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन नागरिक रहेका थिए । चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए ।
यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए । यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ ।