खराब मौसमका कारण विमान दुर्घटना भएको प्रारम्भिक निष्कर्ष, पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन
News Desk
May-31 , 2022 तारिख 11:12 बिहान

काठमाडौँ ─ १७ जेठ २०७९

काठमाडौँ, प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए । संसद्को अन्तर्राष्ट्रिय समितिको सोमबारको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताए । घटनाको जाँचबुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइने महानिर्देशक अधिकारीले विश्वास दिलाए । घटनास्थल जोमसोम विमानस्थलबाट ८ नटिकल माइल दूरीमा पर्छ । उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरे भन्ने भिरमा ठोक्किँएर दुर्घटना भएको अवस्थामा सोमबार बिहान भेटिएको थियो । विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्यसहित २२ जनाको दुःखद् निधन भएको छ ।

पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको उक्त विमान उडेको १०ः७ बजेपछि सम्पर्कविहीन भएको थियो । पाँच वटा हेलिकोप्टरले आइतबार दिनभर खोजी गर्दा पनि फेला नपरेपछि सोमबार बिहानै परिचालन भएको संयत्रबाट दुर्घटनाग्रस्त जहाज भेटिएको थियो ।  शव काठमाडौँ ल्याइयो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये १० जनाको शव अहिले काठमाडौँ ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा १० जनाको शव सोमबार साँझ काठमाडौँमा ल्याइएको हो । प्रतिकूल मौसमका कारण अर्का एकजनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । केन्द्रका अनुसार १० जनाको शव बोकेर नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टर अहिले काठमाडौँ आइपुगेको र ती शवहरु अस्पतालतर्फ पठाइएको छ ।

शवको उद्धार तथा आवश्यक व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सचिव महेश्वर न्यौपानेसहितको टोली बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रमा खटिइरहेका थिए । मन्त्री आलेले हवाई दुर्घटनामा परी मानवीय क्षति भएकामा दुःख व्यक्त गरेका छन् । उनले दुर्घटनाबाट भएको ठूलो मानवीय क्षतिले आफू मर्माहत भएको बताएका छन् । उनले दुर्घटनामा परी ज्यान गुमाएका चालक दलका सदस्य एवं यात्रुमा श्रद्धाञ्जलि अर्पण र शोकाकुल परिवारजनमा समवेदनासमेत व्यक्त गरेका छन् ।  हवाई दुर्घटनाबाट राष्ट्रलाई अपूरणीय क्षति पु¥याएको उल्लेख गर्दै उनले दुर्घटनालाई न्यूनीकरण गरेर हवाई यात्रालाई सुरक्षित बनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । मन्त्री आलेको निर्देशनमा मन्त्रालयले विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोगसमेत गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।

आयोगको सदस्यहरूमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । भेटिएका शव सनाखत गर्न बाँकी छ । समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा कुहिरो लागेको बताइएको छ । भेटिएका २१ शवमध्ये ११ वटा शव घटनास्थलमै रहेको र मौसममा सुधार आएपछि सम्भवतः भोलि सोमबार पोखरा ल्याइने तर त्यहाँबाट काठमाडौँ ल्याइने उद्धार टोलीले जनाएको छ । मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिए । पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । जहाजमा चालक दलका तीनजना सदस्य, १२ जना नेपाली, चारजना भारतीय र दुईजना जर्मनी नागरिकसहित २२ जना सवार रहेका थिए ।