शुक्लागण्डकी नगरपालिकामा सेवा प्रवाह केन्द्र स्थापना, केन्द्रसम्म आउने जनताको खोजी कर्मचारीले नै गर्ने
News Desk
Jun-02 , 2022 तारिख 07:51 बेलुका

 

बिष्णु गौतम/ दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले सुशासन प्रत्याभुती दिने गरि नविनतम सेवा प्रारम्भ गरेको छ ।  नगरपालिकाले सेवाग्राही नागरिकलाई कर्मचारी खोज्दै विभिन्न शाखामा धाउनुपर्ने बाध्यतात्मक परिस्थितीको सामना गर्न नपर्ने गरि व्यवस्थापन गरेको हो ।  जसका लागि नगरपालिकाले सेवा प्रवाह संञ्चालन केन्द्र स्थापना गरेको छ । केन्द्रको शुभारम्भ विहिबार गरिएको छ ।  सो अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगरभित्र सार्वजनिक सेवा प्रवाहलाई नियमित, मितव्ययी, कानुन संम्मत, प्रभावकारी र औचित्यपूर्ण बनाई नागरिकमैत्री स्थानीय शासन संञ्चालन गर्नका लागि केन्द्र स्थापना गरिएको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पंडितले जानकारी दिनुभयो ।  ‘नगरभित्र सार्वजनिक सेवा प्रवाहलाई नियमित, मितव्ययी, कानुन संम्मत, प्रभावकारी र औचित्यपूर्ण बनाई नागरिकमैत्री स्थानीय शासन संञ्चालन गर्नका लागि केन्द्र स्थापना गरिएको हो ।  बिहीबारदेखि शुरु गरिएको यस केन्द्रले आम नागरिकको सानो कामका लागि विभिन्न कार्यकक्षमा पुग्नुपर्ने समस्या हटेको छ’ उहाँले भन्नुभयो ‘सेवा प्रवाह संञ्चालन केन्द्रले सहजकर्ताको भुमिका निर्वाह गर्नेछ’ । नगर प्रमुख पंडितले  शुक्लागण्डकीको ग्रामिण र बजार क्षेत्रमा बसोवास गर्ने आमनागरिकले नगरपालिका प्रवेशगरे पस्चात कुन कामको लागि कसलाई भेट्ने थाहा नहुने हुदाँ केन्द्रले ठुलो टेवा पु¥याउने जिकिर गर्दै  सहज केन्द्र संञ्चालन भएसंगै कर्मचारी र आम नागरिक बिचको सम्बन्ध प्रगाढ हुने विश्वास लिईएको धारणा   समेत व्यक्त गर्नुभयो । ‘यस कार्यले संघियताको मुलमर्म अनुरुप डोर टु डोर सर्भिसलाई केही हदसम्म पुरा गर्नेछ । कर्मचारीलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण हुनेछ भने सेवाग्राहीलाई सहज रुपमा काम सम्पन्न गर्न सहयोग पुग्नेछ’ मेयर पण्डितले भन्नुभयो।

 

त्यसैगरि, नगर उपप्रमुख खुमबहादुर विक (राजु) ले कर्मचारी नै आवश्यक परेको खण्डमा जनता सामु आएर काम गर्ने वातावरण सिर्जना गर्ने अवस्थाको शुरुवात भएकाले उप्रान्त कामको लागि जनताले सास्ती व्यहोर्नु नपर्ने स्थिती  सिर्जना भएको उल्लेख गर्नुभयो  । ‘नगरको शाखामा, उप–शाखाहरुमा रहेका कर्मचारीलाई जनताले खोज्दै जाने होईन कि, यो केन्द्रमा आएपछि जनतालाई समस्या परेको खण्डमा जनता खोज्दै कर्मचारी केन्द्र सम्म आउने वातावरण सिर्जना गर्छौ’ उहाँले बताउनुभयो । उपप्रमुख विकले सेवा प्रवाह केन्द्रबाट तोकिएको समयमा विधि र नियमसंगत जनताको काम गर्न कर्मचारीलाई आग्रह समेत गर्नुभयो ।  

शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिला बल्लभ न्यौपानेले नगरको सेवालाई जनमैत्री बनाउन सेवा प्रवाह केन्द्र सुरु गरिएको उल्लेख गर्नुभयो ।’सार्वजनिक क्षेत्रमा सेवा प्रवाह केन्द्रको प्रयोग कमै हुने गरेको हुदाँ सम्भवत सेवा प्रवाह केन्द्र नेपालमै प्रथम पटक शुभारम्भ भएको हो ।  नगरपालिकाले पहिलो पटक यस्तो सेवा प्रदान गर्न लागेको हुदाँ असार मसान्तसम्म परिक्षण काल रहन्छ  र त्यसपछि थप परिमार्जित गर्दै अगाडी बढने योजना छ’ उहाँले केन्द्र संचालन बारे जानकारी दिने क्रममा बताउनुभयो । 

 

त्यसैगरि, शुक्लागण्डकी नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख हिमा पोख्रेलले सेवा केन्द्रको परिचय, उद्देश्य र संञ्चालन विधिबारे जानकारी दिनुहुँदै कार्यालयमा आउने आमसर्वसाधारण नागरिक फाईल लिएर वा नलिई कुनै पनि शाखामा प्रवेश गर्न नपाउने तर नगर प्रमुख र उपप्रमुसँग भेट्न भने कुनै बाधा नपर्ने बताउनुभयो ।