नेपाल क्यान्सर अस्पतालको ५ औं वार्षिकोत्सव समारोह सम्पन्न
News Desk
Jun-04 , 2022 तारिख 11:48 बिहान


काठमाडौं । नेपाल  क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरले आफ्नो ५ औं  वार्षिकोत्सव कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्दै आएको अस्पतालले शुक्रबार वार्षिकोत्सव समारोह आयोजना गरि आफनो पाचौं वार्षिकोत्सव मनाएको हो ।  कार्यक्रमको समुदघाटन कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य सचिव डा. रोशन पोखरेल र उक्त कार्यक्रमका सभापति समेत रहनुभएका अस्पतालका कार्यकारी अध्यक्ष सिनियर अंकोलोजिष्ट डा. सुदिप श्रेष्ठले संयुक्त रुपमा गर्नुभएको थियो ।  सो अवसरमा प्रमुख अतिथिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सचिव पोखरेलले अस्पतालले पाँच बर्षको छोटो अवधिमा प्राप्त गरेको सफलता र अस्पताललाई सबल नेतृत्व प्रदान गर्न सफल हुनु भएको उल्लेख गर्नुहुँदै कार्यकारी अध्यक्ष श्रेष्ठ समेतको प्रशँसा गर्नुभएको थियो । साथै, उहाँले अस्पतालले बेड बिस्तारको नीति लिनु सर्हानिय कार्य रहेको उल्लेख गर्नुहुँदै मन्त्रालयले स्विकृतिका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  उहाँले उपचार महंगो हुने हुँदा सरकारले क्यान्सर उपचारमा सहुलियत दिए जस्तै अस्पतालले पनि उपचारबाट कोही पनि बन्चित हुनु नपरोस भन्ने  भावनाका साथ गरिवीमा रहेकालाई सहुलियत दिनुपर्ने बताउनुभयो ।  


सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले क्यान्सर उपचारको सेवा स्वदेश भित्रै उपलब्ध गराउने तथा उपचारकै क्रममा ठुलो धनराशी विदेशिदै आईरहेको सन्दर्भमा सोलाई रोक्ने उदेश्य सहित नेपाल क्यान्सर अस्पतालको स्थापना भएको अवगत गराउनुहुँदै उहाँले हालसम्म अस्पताल आफ्नो उदेश्य र लक्ष्य प्राप्तीमा खरो उत्रदै पाँच बर्षको दौरानमा देशकै अब्बल क्यान्सर अस्पताल बन्न सफल रहेको बताउनुभयो । अस्पताललाई छोटो अवधि  भित्रमा गहन उपलब्धी हासिल गर्ने स्थानसम्म पुर्याउनमा अस्पतालमा कार्यरत चिकित्सक लगायतका स्वास्थ्यकर्मी, कर्मचारी, सेयरधनीबाट प्राप्त साथ सहयोग प्रमुख रहेको पनि उहाँले उल्लेख गर्नुभयो । उपचारका लागि नर्सिङ सेवा प्रमुख रहेको उल्लेख गर्नुहुँदै  अस्पतालले विशेष नर्स उत्पादन गर्न लागिरहेको जानकारी दिनुभयो । ‘तत्काललाई अस्पतालको वार्ड संख्या डेढ  देखी दुई सयसम्मको बनाउने योजना सहित अघि बढिराखेका छौ, हामीसँग विशेषज्ञ चिकित्सकको अभाव पनि छैन, नयाँ प्रविधि  भित्र्याउदै जाने लक्ष्य अनुरुप छिट्टै नै नविन प्रविधि   जडान हुनेछन्, अब क्यान्सर सम्बन्धी सम्पूर्ण उपचार नेपालमा नै संभव हुने गरि पूर्वाधारका लागि लगानी थप्न लागिरहेका पनि छौ’ डा. श्रेष्ठले अस्पतालको अल्प एवम दिर्घकालिन योजना बारे जानकारी दिदै भन्नुभयो  ।  

सो अवसरमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. बच्चू कैलाश कैनीले नेपाल क्यान्सर अस्पतालले छोटो अवधिमा पाएको सफलता र चर्चा विश्वभर फैलिएको बताउनुहुँदै सात वटा प्राथमिकताका क्षेत्र निर्धारण गरि व्यवस्थापन पक्षलाई चुस्त र प्रभावकारी तुल्याईएको जानकारी दिनुभयो । अनुमान गरिएभन्दा २ प्रतिशत बढि आम्दानी गर्न अस्पताल सफल रहेको र कर्मचारीहरुलाई  बोनस दिने गरि आगामी दिनमा कार्यक्रम ल्याउन लागिएको पनि उहाँले बताउनु  भयो ।  

कार्यक्रममा अस्पतालका मेडिकल डाईरेक्टर बिजेश राज घिमिरे, निर्देशक महेश्वर श्रेष्ठ, सल्लाहकार एवम् बरिष्ठ चिकित्सक गिसुपनिखा प्रसिको लगायतले कार्यक्रमलाई संबोधन गर्नुभएको थियो भने निर्देशकहरु स्वरुपा श्रेष्ठ, सञ्जय श्रेष्ठ, नरेशलाल श्रेष्ठ, हरि  प्रसाद ढकाल, यशोबर्धन प्रधान, दिपक कुमार तिवडेवाल आदीको उपस्थिती रहेको थियो ।  उक्त वार्षिकोत्सव समारोह माझ अस्पतालका कर्मचारीहरुले मनोरन्जनात्मक प्रस्तुती दिएका थिए भने साताव्यापी रुपमा आयोजित विभिन्न खेल प्रतियोगिताका विजयी प्रतियोगी मध्ये उत्कृष्टलाई ट्रफी, लामो समय सेवारत कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।