एनआरएनए अमेरिकामा सहमती, अध्यक्ष सुवेदी र लामिछानेबीच ६ बुँदे सहमति
News Desk
Jun-06 , 2022 तारिख 11:13 बिहान

काठमाडौं  ─ २३ जेठ २०७९

काठमाडौं, गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको विवाद अन्तत सहमतिमा अन्त्य भएको छ । संघका अध्यक्ष बुद्धी सुवेदी र कृष्ण लामिछानेबीच आइतवार ६ बुँदे सहमतिमा हस्ताक्षर गरेपछि विवाद समाप्त भएको हो ।
सहमतिपत्रमा अध्यक्ष सुवेदी र लामिछानेले हस्ताक्षर गरेका छन भने साक्षीहरुमा आईसिसि महासचिव गौरीराज जोशी,हरीबोल भन्डारी,रामकुमार सुवेदी,कृष्णजीवी पन्तलगाएतले हस्ताक्षर गरेका छन । सहमतिपत्रमा केन्द्रीय एमआईएस प्रणाली मार्फत सदस्यता वितरण गर्ने, पंजीकृत सदस्य बनाउने प्रकृया तत्काल स्थगन गर्ने, विधान संशोधन गर्ने, सदस्यता शुद्धिकरण गर्ने, समितिहरु आवश्यक अनुसार समायोजन वा पुनर्गठन गर्ने, एकता अधिवेशन गर्ने लगायतका विषयमा सहमति जुटेको छ ।
एनआरएनए अमेरिकामा दुई पक्ष बिच भएको सहमतिपत्र जस्ताको तस्तै

गैरआवासीय नेपाली संघको भावना, प्रस्तावना, विधान र उदेश्यलाई स्मरण गर्दै, गैरआवासीय नेपाली संघलाई एक स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रुपमा अक्षुण्ण राख्दै, सहमति, सहकार्य र एकताको संदेश सहितको गत मार्च २६ र २७ तारिख सम्पन्न संघको दशौं महाधिवेशनमा जारी गरिएको भावना अनुरूप राष्ट्रिय समन्वय परिषद युएसएमा देखिएका असमझदारीलाई समाधान गरी संघलाई एकताबद्द बनाउने पवित्र उदेश्यले देहाय अनुसारको सहमति गरिएको छ। १) राष्ट्रिय समन्वय परिषद युएसएको पंजीकृत सदस्य बनाउने प्रक्रिया तत्काल स्थगन गरी आगामी साधारणसभा पछि मात्र प्रकृया शुरु गर्ने । राष्ट्रिय समन्वय परिषद युएसए र अन्तर्राष्ट्रिय समन्वय परिषद बिच सम्झौतापत्र (MOU) मा हस्ताक्षर गर्ने । अन्तर्राष्ट्रिय समन्वय परिषदले प्रयोगमा ल्याएको MIS System को प्रयोग गरी सदस्यता बनाउने र नविकरण गर्ने । साथै MIS System को विश्वसनीयता र Personal Information Protection को प्रत्याभूतिको सुनुश्चिताता गर्न आवश्यकता अनुसार MIS System लाई सुधार गर्दै जाने।


२) जुलाई ३-४ तारिख २०२२ मा हुने साधारणसभाबाट गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको विधान अनुरुप राष्ट्रिय समन्वय परिषद युएसए विधानमा संशोधन गर्ने ।
३) निष्पक्ष निर्वाचन, निर्वाचनको विश्वसनीयता र सर्वस्वीकार्यताकालागि सदस्यता शुद्धिकरण गर्ने। सदस्य स्वयंले आफ्नो सदस्यता आफै बनाउने सुनिश्चितताका लागि Live face verification गर्ने, गिफ्ट कार्डबाट सदस्य बन्न नपाउने व्यवस्था गर्ने, डेबिट वा क्रेडिट कार्डबाट बनाउने सदस्य संख्याको सिमा निर्धारण गर्ने, सदस्यता नविकरण गर्दा पुनः भेरिफिकेसन गर्ने ।
४) विधानमा व्यवस्था भए वमोजिम संरक्षक परिषद, सल्लाहकार एवं विभिन्न समितिहरु सहमतिको आधारमा गठन गर्ने। गठन भै सकेका समितिहरुको आवश्यकता अनुसार सहमतिमा समायोजन वा पुनर्गठन गर्ने निष्पक्ष निर्वाचन गर्नका लागि सहमतिको आधारमा निर्वाचन समितिमा रहने व्यक्तिहरु चयन गरी आगामी साधारण सभामा पेश गर्ने। सहमतिको आधारमा Membership Management Committee, Membership Verification Committee, विधान संसोधन समिति, निर्वाचन अनुगमन समिति गठन गर्ने, समायोजन गर्ने ।
५) जुलाई ३ र ४ मा North Carolina मा एकताको अधिवेशन गर्ने। उक्त अधिवेशनको कन्भेनरमा कृष्ण लामिछानेको शिफारिशमा १ जना कन्भेनर थप गरी दुईजना कन्भेनर बनाउने ।
६) गैरआवासीय नेपाली संघको विधानको भावना र माथि उल्लेखित सहमतिको मर्म अनुशार सहमतिको आधारमा संस्था संचालन गर्ने।

बुद्धी सुवेदी
कृष्ण लामिछाने