एनआरएनए अमेरिकाको निर्वाचित कमिटि बुद्दी सुवेदीको नेतृत्व नै आधिकारिक- एनआरएनए अध्यक्ष आचार्य
News Desk
Jun-06 , 2022 तारिख 01:58 बेलुका

अमेरिका  ─ २३ जेठ २०७९

अमेरिका, गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले एनआरएनए अमेरिकाको निर्वाचित कमिटि नै आधिकारिक भएको र यस बारे कुनै भ्रम हुन नहुने बताएका छन । अध्यक्ष आचार्यले कुराकानी गर्दै अध्यक्ष यती ठुलो अन्तर्राष्ट्रिय सञ्जालमा कसैको व्यक्तिगत समस्या हुन सक्छन् । कसैको इगो हुन सक्छ । गैर आवासीय नेपाली संघको ठूलो संगठन रहेको अमेरिका केही तलमाथि भएको हो । त्यो लोकल इस्यू हो । लोकल इस्युमा अन्तर्राष्ट्रिय रुपमा प्रवेश गर्न नचाहेको बताए। “धेरै कुराहरु मिलिसकेको छ । अमेरिकाको कुराहरु पनि मिलेर अब संयुक्त अधिवेशन आयोजना गर्नुहुन्छ त्यसका लागि म अनुरोध पनि गर्दछु । अमेरिकाले एउटा नयाँ उदाहरण दिएर आफूलाई प्रस्तुत गर्छ भन्नेमा विश्वस्त छु ।

अहिले आधिकारिकताको कुरा गर्ने हो भने बुद्धि सुवेदी निर्वाचित भएर आएको कमिटी नै आधिकारिक हो । साना तिना मनका असहमतिहरु मिलाएर ल्याउनुहुन्छ भन्ने विश्वास लिएकोछु,” उनले भने । अध्यक्ष आचार्यले कोठामा हुने खुराफातहरु बन्द गरेर खुलारुपमा आउन पनि सबै लाई आग्रह गरे । ‘सानातिना केही मनमुटावहरु छन् भने सबै बसेर मिलाएर जाउँ भन्ने नै छ । हाम्रो दशौं अधिवेशन पछि सरकारले पनि गैर आवासीय नेपालीहरुका मुद्दालाई सम्बोधन गर्ने काम गरेको छ । त्यसैले अझै अहिले प्राप्त उपलव्धीहरुलाई थप मजबुत बनाउन सबै मिलेर अघि बढ्नु पर्छ,’ उनले भने । नेपाल सरकारको नीति तथा कार्यक्रम र नयाँ आर्थिक वर्षको बजेटमा पनि गैरआवासीय नेपाली नागरिकताका धेरै कुराहरु सम्बोधन भएको र अहिले चलिरहेको संसदमा नागरिकता विधेयक आफै लिएर जाने भन्ने कुरामा सबै पार्टीहरु सहमत भएको आचार्यले बताए ।

‘तर सामाजिक सांस्कृतिक अधिकार जसरी नेपालका नेपालीहरुले पाउँछन्, संसारभरी रहेर कर्म गरेका र नेपाललाई माया गरेका नेपालीहरुलाई नेपालसँग जोड्नका लागि नेपाली सरह नै सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकता पाउने छौं भन्ने आशामा छौं । केही समय अगाडि म नेपाल पुगेर पनि लविङ गरेको थिए । अहिले संसद चलिरहेको बेलामा हाम्रा धेरै साथीहरु पनि काठमाडौं जाँदै हुनुहुन्छ । कति साथीहरु पुगिसक्नु भएको छ भने म पनि अब चाँडै गएर ऐन जारी गराउने अभियानमा लाग्छु । अहिले गैर आवासीय नेपाली संघमा तिता मिठा कुराहरु भएपनि नागरिकता हामी सबैको मुल मुद्दा हो । यसलाई समाधान गराएर हामी अगाडि बढ्न सक्ने छौं,’ उनले भने। अध्यक्ष आचार्यले सबै एनआरएनहरुलाई नेपालका बैंक हरुमा डलर खाता खोलेर तथा वैदेशिक रोजगार बचत पत्र खरिद गरेर लाभान्वित हुन पनि आग्रह गरेका छन ।