बर्दिया घटना छानबिन गर्न समिति गठन, गृहमन्त्रीद्धारा संसदमा जानकारी
News Desk
Jun-08 , 2022 तारिख 10:59 बिहान

काठमाडौँ ─ २५ जेठ २०७९

काठमाडौँ, गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका–२ मा सोमबार नविना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय मिति बनाएको छ । मन्त्रीस्तरीय निर्णयबाट सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । सो समितिलाई काम सुरु गरेको मितिले सात दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य छन् । गृहमन्त्री बालकृष्ण खाणले बर्दियामा सोमबार अवरुद्ध हुलाकी सडक खुलाउने सिलसिलामा भएको गोली प्रहारको घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको सदनलाई जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सो घटनाका सम्बन्धमा जवाफ दिँदै सो घटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताए । छानबिन समितिले दिएको प्रतिवेदनअनुसार घटनामा संलग्न दोषीमाथि कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री खाणले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व रहेको प्रस्ट पारे । “त्यहाँ कुन अवस्थामा कसरी गोली चल्यो, आदेश कसले दियो भन्ने बारेमा सत्यतथ्य जानकारी आएपछि दोषीउपर कारबाही हुनेछ,” उनले भने । घटनास्थलमा अहिले सर्वदलीय बैठक बसेको र स्थितिलाई सामान्य बनाउने प्रक्रिया अगाडि बढेको गृहमन्त्रीको भनाइ छ । घाइतेको उपचारको प्रबन्ध सरकारले गरेको भन्दै वन्यजन्तुबाट आमनागरिक प्रताडित हुन नपरोस् भन्नेमा सरकार गम्भीर रहेको गृहमन्त्री खाणले बताए । “निकुञ्ज क्षेत्रमा तारबार लगाउने, त्यसका लागि सम्बन्धित मन्त्रालयले तत्काल बजेट व्यवस्थापन गर्नेछ”, उनले भने, “स्थानीय उपभोक्ता समिति, वन समिति र स्थानीय तहसँग समन्वय गरेर तत्काल तारबार गरिनेछ ।”

गृहमन्त्री खाणले सो घटनालाई नियन्त्रणमा लिन प्रहरीलाई गोली प्रहार गर्ने आदेश नदिइएको जानकारी दिए । “नागरिकको आक्रोश, अवरोध र भीडमा गोली चलाउने आदेश छैन, सम्झाई, बुझाई गरी सर्वदलीय बैठकमार्फत समस्यालाई समाधान गर्ने, कमभन्दा कम शक्तिको प्रयोग गरी विवाद समाधान गर्ने सरकारको उद्देश्य छ”, गृहमन्त्री खाणले भने, “गोली चलाउने त आदेश नै छैन, बर्दियाका प्रमुख जिल्ला अधिकारीले पनि गोली चलाउने आदेश नदिएको धारणा राख्नुभएको, तर त्यहाँ गोली चलेको छ, यस घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले मंगलबारै बिहान छानबिन समिति गठन गरेको छ ।” बर्दियाको मधुवन नगरपालिका–२ सोनाय गाउँका ४१ का सुरेन्द्र थारूलाई सोमबार बिहान खेतमा काम गरिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको थियो । चितुवाले उनको कम्मर, दाहिने हात र तिघ्रामा चिथोरेको गृहमन्त्रीले जानकारी गराए । कोठियाघाट प्रहरी चौकीबाट खटिएको प्रहरीले घाइते थारूलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगेको पनि गृहमन्त्री खाणले जानकारी दिए ।

सोही दिन अपराह्न १ बजे मधुवन नगरपालिका–३ स्थिति ओराली बजारमा चितुवाको आक्रमणले घाइते बनाएको विषयलाई लिएर स्थानीय सामुदयिक वन समितिका पदाधिकारी तथा स्थानीय नागरिकले बाघ र चितुवाको आक्रमणलाई नियन्त्रण गर्नुपर्ने, निकुञ्ज क्षेत्रमा तारजालीको व्यवस्था गर्नुपर्ने, जनजीवन सुरक्षाको माग राखेर हुलाकी सडक अवरुद्ध भएको गृहमन्त्री खाणले जानकारी गराए । सुरक्षाकर्मीले सुम्झाई बुझाई अवरुद्ध राजमार्ग खुलाउने क्रममा स्थानीय उत्तेजित भई भीडले ढुङ्गामुढा गरेको जानकारी दिँदै उनले भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले केही थान अश्रु ग्यास र गोली प्रहार गरेको बताए । गोली प्रहारबाट स्थानीय नवीना चौधरीको निधन भएको उनले जानकारी दिए । यस्तै गृहमन्त्री खाणले यौनजन्य हिंसाका घटनामा संलग्नमाथि हदैसम्मको कारबाही हुने बताएका छन् । बाँकेको राप्तीसोनारी निवासी १६ वर्षीय किशोरीमाथि भएको सामूहिक बलात्कारको घटना ज्यादै दुःखद र निन्दनीय भएको उल्लेख गर्दै उनले बलात्कारमा संलग्नलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइसकेको बताए । खजुराको धनौजीको प्रहरी चौकीले घटनामा संलग्नलाई सात युवालाई पक्राउ गरेको उनले सदनलाई जानकारी गराए ।

स्थानीय प्रशासनको सहयोगमा पीडित किशोरीको उपचार भइरहेको जानकारी दिँदै उनले अहिले किशोरीलाई गैरसरकारी संस्था साथीको संरक्षणमा राखिएको बताए । गृहमन्त्री खाणले समूहिक बलात्कार तथा यौन हिंसाले प्रश्रय नपाओस् भनी घटनामा संलग्नलाई हदैसम्मको कारबाही गरिने विश्वास दिलाउनुभयो । “यौन हिंसालाई दुरुत्साहन गर्ने, बलात्कार र सामूहिक बलात्कारमा प्रताडित भएका नारीलाई सम्मानजनक जीवनयापनका लागि वातावरण तयार गर्नुपर्ने र त्यसका लागि आवश्यक कानुनी प्रावधानलाई संशोधन र परिमार्जन गर्नुपर्ने आवाजसँग सहमत छु,” उनले भने ।यौनहिंसा र यसबाट बाँच्ने, बचाउने र त्यस्ता हिंसा गर्नेलाई हुने सजायसम्बन्धी जानकारी दिने विषय विद्यालयस्तरको पाठ्यक्रममा राख्न आफूले पहल गर्ने गृहमन्त्रीले बताए । बाँकेका राप्तीसोनारी निवासी १६ वर्षकी किशोरीमाथि बाँकेकै वैजनाथ बस्ने हेमराज थारूले आफ्नो जन्मदिनको कार्यक्रममा आमन्त्रण गरी अन्य ६ जना साथीहरूसँग फूलबारी भन्ने स्थानमा लगेर सामूहिक बलात्कार गरेको गृहमन्त्रीले सदनलाई जानकारी गराए ।

गृहमन्त्रीको ध्यानाकर्षण प्रतिनिधिसभाको मंगलबारको बैठकको सुुरुमै सभामुख अग्निप्रसाद सापकोटासँग समय मागेर सांसदहरूले विभिन्न घटनाका सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै जवाफ माग गरेका थिए । समय मागेर बोल्दै सांसद विमला विकले बर्दियामा राष्ट्रिय निकुञ्जको वन्यजन्तुको आतङ्क बढेको भन्दै उनले जङ्गली जनावरबाट हुने मानवीय तथा भौतिक क्षति रोक्न माग गरे । सोमबार मात्र बर्दियाको मधुवन नगरपालिका–२ सोनाय गाउँका ४१ का सुरेन्द्र थारूलाई सोमबार बिहान खेतमा काम गरिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको बताए । सोही घटनालाई लिएर स्थानीय सामुदायिक वन समितिका पदाधिकारी तथा स्थानीय नागरिकले बाघ र चितुवाको आक्रमणलाई नियन्त्रण गर्नुपर्ने, निकुञ्ज क्षेत्रमा तारजालीको व्यवस्था गर्नुपर्ने, जनजीवन सुरक्षाको माग राख्दै अवरुद्ध हुलाकी सडक खुलाउने क्रममा प्रहरीले स्थानीयमाथि गोली प्रहार गरेको भन्दै सांसद विकले घटनाको भत्र्सना गरिन ।

“गोली नचलाउनु पर्नेमा प्रहरीले गोली चलाएको छ, स्थानीय जनप्रतिनिधिले प्रहरीबाट ज्यादती भएको भनेका छन्,” उनले प्रश्न गरिन, “प्रहरीको ज्यादतीको छानबिन हुन्छ कि हुँदैन ?” यस्तै, समय मागेर सांसद पूर्णकुमारी सुवेदीले यही वैशाख २२ गते बाँकेमा भएको सामूहिक बलात्कार घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिन । “छोरी चेली कहिलेसम्म असुरक्षित हुने हो ?,” उनले सरकारलाई प्रश्न गरे, “घटनामा संलग्नलाई कहिले कारबाही हुन्छ ?” सांसद लालबहादुर थापाले बाजुरा जिल्लास्थित बूढीगङ्गा नगरपालिकाको स्थानीय निर्वाचनलाई प्रभावित बनाउन सरकारले अनुचित दबाब दिएको बताउँदै जिल्ला सुरक्षा समितिलाई निर्वाचनलाई स्थगित गर्ने अधिकार कस्ले दियो भनी प्रश्न गरेका थिए ।