News Desk
ललितपुर । ललितपुर चेम्बर अफ कमर्सले ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडा अध्यक्ष एवम् कार्यपालिका सदस्य तथा गोदावरी एवम् महालक्ष्मी नगरपालिकाका मेयर उपमेयर र बागमती, कोन्ज्योसोम एवम् महांकाल गाउँपालिकाका अध्यक्ष उपाध्यक्षहरुको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ । बुधवार जावालाखेलमा आयोजित उक्त कार्यक्रम ज्योति पुण्ज सहकारी संस्था लिमिटेडको सहकार्यमा भएको हो । सो अवसरमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गएको पाँच बर्षमा स्मार्ट सिटीको अवधारणालाई अघि सार्दै आफुले योजनाबद्ध रुपमा काम गरेको उल्लेख गर्नुहुँदै अब छिट्टै ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी घोषणा गरिने जानकारी दिनुभयो । स्मार्ट सिटी अन्तर्गत चक्रपथ सहित ४ वटा मुख्य सडक र भित्री खण्डमा बत्ती र सिसिटिभि जडानको काम केही पुरा भएको र केही छिट्टै नै पुरा हुने चरणमा रहेको बताउनुहुँदै उहाँले ललितपुर महानगर उपत्यकाकै सबै भन्दा उज्ज्यालो क्षेत्र बन्ने दाबी समेत पेश गर्नुभयो ।
साथै मेयर महर्जनले ललितपुर चेम्बरले भने जस्तै उद्यमशिलता तालिम र राजश्वको पुनरावलोकन गर्ने सम्बन्धमा महानगर गम्भिर रहेको र परामर्श तथा छलफलमा सहभागी हुन आग्रह समेत गर्नुभयो । सो अवसरमा सभापतिको आसनबाट बोल्नुहुँदै ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले ललितपुर चेम्बर अफ कमर्शले स्थानिय सरकारसँगको सहकार्यमा स्थानिय अर्थतन्त्रलाई मजबुत तुल्याउन नेतृत्वदायी भूमिका खेल्न सक्ने दाबी पेश गर्नुहुँदै उद्यमशिलता प्रबर्धन सम्बन्धी तालिम र राजश्व कर प्रणालीलाई निजी क्षेत्र मैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
साथै उहाँले मुलुकको आर्थिक अवस्थालाई सुदृढ तुल्याउन उत्पादनशिलता माथि जोड दिने तथा सांस्कृतिक सम्पदाको जगेर्ना र निर्यातजन्य हस्तकला उद्योगलाई सहुलियत दिनुपर्ने राय पेश गर्नुभयो । त्यसैगरि, ललितपुर महानगरपालिकाकी उपमेयर मन्जरी शाक्य बज्राचार्यले ललितपुर महानगर भित्रको फोहर व्यवस्थापन ललितपुरमा नै गर्न प्रतिफल लिने गरि निजी क्षेत्रले लगानी गर्न सक्ने उल्लेख गर्नु हुँदै चेम्बरलाई यस बिषयमा ध्यान दिन आग्रह गर्नुभयो । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गोदावरी नगरपालिका उद्योग, पर्यटन आदीका लागि लगानीको उपर्युक्त क्षेत्र रहेको दाबी गर्नुहुँदै गोदावरी नगर भित्र लगानीका लागि ललितपुर चेम्बरलाई साझा धारणा बोकेर आउन आग्रह गर्नुभयो । कार्यक्रममा बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर ले ललितपुर चेम्बर जस्ता निजी क्षेत्र सम्बद्ध संगठनसँग सहकार्य गर्दै अघि बढन आतुर रहेको आशय व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका वडा अध्यक्ष एवम् कार्यपालिका सदस्य, ललितपुर चेम्बर अफ कमर्स, ललितपुर महिला चेम्बर, ललितपुर युथ चेम्बर, ज्योतिपुण्ज सहकारीका पदाधिकारी एवम् सदस्यहरु आदीको सहभागीता रहेको थियो ।