News Desk
यही जुन ४ देखि ११ सम्म मलेसियाको पेनांग सिटी मा भएको "KASYP Asia" को सम्मेलनमा नेपाललाई अभिविन्द खनियाले प्रतिनिधित्व गरेका छन्। एसियाका डेमेक्रेटिक पार्टीहरुका युवा नेताहरुको उक्त सम्मेलनमा उनले नेपाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रतिनिधित्व गरेका हुन्। उक्त कार्यक्रम राजनीतिक र सामाजिक विकास, राजनीतिक दल र नागरिक समाज, सामाजिक बजार अर्थव्यवस्था, क्षेत्रीय सुरक्षा, अन्तर्राष्ट्रिय सहयोग र एशिया-युरोप सम्बन्धमा केन्द्रित रहेको थियो।यहां दिइएका विभिन्न प्रकारका तालिमहरूमा लोकतान्त्रिक समाजमा राजनीतिक दलका कार्यहरू र संगठन, अभियानमा नेतृत्व तालिम, राजनीतिक दल संगठन र स्थानीय राजनीति, स्थानीय शासन र विकास आदि विषयहरु समावेश रहेको थियो। यस कार्यक्रम युवाहरूलाई राजनीतिक दल निर्माण, स्थानीय शासन र विकास, राजनीतिक अभियान, परियोजनाको कार्यान्वयन र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा तालिम दिने मञ्च हो।
उक्त कार्यक्रममा उनले नेपालको राजनैतिक गतिविधि, निर्वाचन प्रणाली, राज्यव्यवस्था, प्राकृतिक सम्पदा, विपद् व्यवस्थापन, पर्यटन प्रवर्धनसंग संबन्धित विभिन्न विषयमा आफ्नो प्रस्तुति राखेका थिए। साथै नेपालमा आउन र बुद्धभूमि तथा सगरमाथाको देशलाई अन्वेशण गर्न सम्पुर्ण प्रति आह्वान गरेका थिए।
उनी बायोटेक्नोलोजीमा स्नातक तथा हाल राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका महासचिवको रुपमा कार्यरत छन्। उनी कृषि वन उद्यम, फ्लोरिकल्चर र सुदृढ लोकतन्त्रसहितको राष्ट्र निर्माणमा योगदान पुर्याउन सपना देख्ने व्यक्ति भएकाले प्रदेश र स्थानीय तहमा नागरिक समाजको सहभागिता, सर्वाङ्गीण विकास र लोकतन्त्रलाई सुदृढ गर्ने अभियानमा छन्।
"म युवाहरू, सीमान्तकृत समुदायहरू, विद्यार्थीहरूलाई उनीहरूको व्यक्तित्व विकासको लागि परिचालन गर्न र विशेष रूपमा युवा स्वयंसेवकहरूलाई तालिम दिँदै समाजमा सकारात्मक परिवर्तनहरू ल्याउने काम गर्दैछु।" अभ्यानी प्रोडक्सन नामक नेतृत्व विकास संस्थाको अध्यक्षको रुपमा काम गर्दै आएका उनी डिबेट नेटवर्क नेपालका पूर्व महासदस्य, संयुक्त राष्ट्र युवा तथा विद्यार्थी संघ नेपालका पूर्व महासदस्य तथा मिस्टर टिन २०१७ का विजेता पनि हुन् साथै यस कार्यक्रमले आफूमा थप राजनीतिक सुझबुझको साथै नेतृत्व शैलीमा अझ निखार ल्याउन सहयोग गर्ने कुरामा उनी विश्वस्त छन्।