News Desk
काठमाडौं ─ ०१ साउन २०७९
काठमाडौं, नेपाली कांग्रेसका जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर पार्टी पदाधिकारीहरूले चर्को रूपमा असन्तुष्टि व्यक्त गरेका छन् । कांग्रेस सरकारले डेलिभरी दिन नसकेको देखी पार्टी सञ्चालनमा शेखर कोइराला समूहलाई बाइपास गरेर एकलौटी गरेको लगायतको विषयलाई लिएर जारी बैठकमा पदाधिकारीहरूले सभापति देउवासँग चर्को असन्तुष्टि व्यक्त गरेका हुन् । बैठकमा उपसभापति धनराज गुरुङले सभापतिले पार्टी एकलौटी चलाउन खोज्दा समस्या भएको बताए । उनले गत महाधिवेशनमा पराजित शेखर कोइराला सम’हलाई बाइपास गरेर अघि बढेको भन्दै सभापति देउवाको चर्को आलोचना गरेका छन् ।
‘शेखर कोइराला समूहलाई पुरै बाइपास गरेर अघि बढ्नु भएको छ, यसरी पार्टी चल्दैन’, उपसभापति गुरुङले भने, ‘त्यसमाथि सरकारले कुनै गतिलो काम गरेको छैन, प्रशासनिक बाहेक सम्झनायोग्य काम नगरेर सरकार कांग्रेसको हो भन्ने देखाउन सक्ने अवस्था छैन ।’ महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि सरकारको डेलिभरीको विषयलाई लिएर सभापति देउवाको आलोचना गरेका छन् । तत्कालीन केपी शर्मा ओलीको सरकारकै पथमा प्रधानमन्त्रीसमेत रहेको देउवा हिँडेको भन्दै संघीय संसदको निर्वाचनमा मत माग्ने एजेन्डा कांग्रेससँग नभएको टिप्पणी गरेका छन् । ‘हिजो ओलीजीले जे–जे गलत गर्नुभयो, त्यसको हामीले आलोचना गर्दै आएका थियौ तर अहिले अहिले प्रधानमन्त्रीले त्यही त्यही काम गरेर हिँड्नु भएको छ, जसका कारण अबको निर्वाचनमा कांग्रेसले के भनेर भोट माग्ने ? त्यो सभापतिले देखाई दिनुपर्छ’, महामन्त्री थापाले बैठकमा भने ।
बहुमतको आधारमा संवैधानिक निकायमा नियुक्ति गर्न सकिने संवैधानिक परिषद् विधेयक ल्याएको विषयलाई जोड्दै सो विधेयक तत्काल फिर्ता गर्नुपर्ने थापाको जोड छ । अर्का महामन्त्री शर्माले पनि संवैधानिक परिषद् विधेयक सरकारले फिर्ता गर्नुपर्नेमा जोड गरेका छन् । ‘संवैधानिक परिषद् विधेयक फिर्ता गर्नुपर्छ, सभापतिले त्यो फिर्ता गर्नु भएन भने हामीले टाउको लुकाएर हिँड्नु पर्ने दिन आउँछ,’ महामन्त्री शर्माले भने, ‘सभापतिले हामीलाई टाउको लुकाएर हिँड्नुपर्ने अवस्था बनाइदिनु भएन ।’ उता सहमहामन्त्रीद्वय सह महामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले नेपाल विद्यार्थी संघ र तरुण दलको नियुक्ति प्रक्रियामा शेखर कोइराला पक्षधरलाई बाइपास गरेर अघि बढेको भन्दै आलोचना गरेका थिए ।
सभापतिलाई बलियो बनाउने नाममा पाखुरामा तेल दल्न सकिंदैन : धनराज गुरुङ
सत्तारुढ कांग्रेस उपसभापति धनराज गुरुङले सभापति देउवालाई बलियो बनाउने नाममा कचौरामा तेल बोकेर गएर पाखुरामा दल्न नसकिने बताएका छन् । पार्टी बैठकमा वादी प्रतिवादीझैं भएर आएको बताउँदै उनले भने, ‘सभापतिको हात बलियो बनाउने भनेर तेलको कचौरा लिएर सभापतिको पाखुरामा लाउन सकिन्न । बलियो बनाउने भनेको वैचारिक रूपमा हो । हामीले त्यही गरेको हो ।’ तर, सभापतिलाई बलियो बनाउन हिँड्दा पनि महामन्त्री गगन थापालगायतलाई अनावश्यक आलोचना गरिएको उनले बताएका छन् । गुरुङले बोल्दै गर्दा सभापति देउवासँग रोचक सवाल जवाफ पनि भएको थियो ।
वैचारिक रूपमा बलियो बनाउन हिँडेका गगनलाई बहिष्कार गर्छु भन्ने ? गगनले लिड नगरेको भए एमसीसी पास गर्ने हिम्मत थियो ? अहिले साथीहरू सभापतिको नाकमा झिँगा बसेको छ भनेर तरबार बोकेर हिँडिरहेका छन् । सभापतिजी तरबारले हान्दा झिँगा मर्छ कि को ?’ जवाफमा देउवाले भने, ‘मेरो नाकमा झिँगा बसेको छैन ।’ तुरुन्तै गुरुङले कटाक्ष गरे, ‘सभापतिजी निदाएको बेला थाहा हुँदैन ।’
अब सरकारको बचाउ गर्न सकिँदैन : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले सरकारको कार्यशैली प्रति आफू सन्तुष्ट नरहेको बताए । ‘म पार्टीको कार्यशैली हेर्दा सन्तुष्ट छैन । अब आफ्नै पार्टीको सरकारको बचाउन गर्न सक्ने अवस्था रहेन,’ उनले भने । आफूहरूले हिजो केपीलाई सरकार कसरी चलाउनु पर्छ भनेर प्रश्न गरेको भन्दै महामन्त्री थापाले शनिबार कांग्रेसको सरकार पनि त्यही बाटोमा हिँडेको आरोप लगाए । पार्टीमा केही व्यक्तिले सभापति शेरबहादुर देउवालाई खुसी बनाउन लागे पनि त्यसले पार्टीको हित नहुने उनको तर्क छ ।
भ्रातृ संस्था गठन गर्दा शेखरसँग किन सल्लाह गरिएन ?
नेपाली कांग्रेसका सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले भ्रातृ संगठनहरु नेपाल विद्यार्थी संघ र तरुण दलका तदर्थ समिति गठन गर्दा नेता शेखर कोइरालासँग छलफल नगरेको भन्दै आपत्ति जनाएका छन् । पार्टी कार्यालय सानेपामा जारी शनिबारको केन्द्रीय कमिटीको बैठकमा बोल्दै पाण्डे र परियारले पार्टी सभापति शेरबहादुर देउवा समक्ष प्रश्न उठाएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलका अध्यक्षमा विद्वान् गुरुङलाई मनोनयन गरेका थिए । ‘नेविसंघ र तरुण दलको अध्यक्ष मनोनयन गर्दा शेरखसँग छलफल नै गरिएन र एकलौटी गर्न खोजियो,’ पाण्डेले बैठकमा भने ।
अर्का सहमहामन्त्री परियारले महाधिवेशनमा ४० प्रतिशत मत प्राप्त गरेका शेखर कोइरालासँग सभापतिले छलफल नगर्नु दुःखद् भएको बताए । ‘भ्रातृ संस्थाको तदर्थ समिति गठनलगायत विषयमा छलफल नै नगरी सभापति देउवा एकलौटी ढंगले अघि बढ्न खोज्नुभयो,’ परियारले भने । कांग्रेसको १४ औं महाधिवेशनमा देउवासँग सभापतिमा कोइरालाले प्रतिस्पर्धा गरेका थिए । पाण्डे र परियार दुवै कोइरालाको प्यानलबाट महाधिवेशनमा प्रतिस्पर्धा गरेका थिए । गत आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएको छ । मन्त्रीहरूले बोल्नेक्रम सकिएपछि पदाधिकारीको पालो शुरु भएको छ ।