यसरी उकालो लाग्दै छ नेपालमा कोरोना संक्रमणको ग्राफ
News Desk
Jul-19 , 2022 तारिख 11:41 बिहान

काठमाडौं ─ ०३ साउन २०७९

काठमाडौं, कोरोना भाइरसको संक्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको संक्रमितको सङ्ख्या सोमबारसम्म आइपुग्दा संक्रमण ४५७ पुगेको छ । असार २६ गते १२१ मा संक्रमण र ६७८ सक्रिय संक्रमित रहेकोमा सोमबार सक्रिय संक्रमित एक हजार ७७६ पुगेका छन् । आइतबार साउन १ गते र सोमबार संक्रमणका कारणले एक÷एक संक्रमितको ज्यान गएको छ । संक्रमण असारदेखि उकालो लाग्न थालेको हो । असार २७ गते १६८, असार २८ गते १७७, असार २९ गते २०६ असार ३० गते २६०, असार ३१ गते २२९, असार ३२ गते २०५ र साउन १ गते १३५ मा संक्रमण देखिएको छ । शून्य दशमलव पाँच प्रतिशतमा रहेको संक्रमण अहिले ९.८२ प्रतिशत पुगेको छ । पाँच सयभन्दा बढी संक्रमित काठमाडौँ जिल्लामा रहेका छन् । शून्य संक्रमित हुने जिल्ला पनि घटेर आठ मात्र पुगेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दास भारतमा संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण बढेको बताउँछन् । ‘भारतमा दैनिक संक्रमण बढिरहेको छ । भारतबाट हजारौँ मानिस नेपालको सीमा हुँदै प्रवेश पनि गरिरहेका छन्’ उनले भने, ‘ती सीमा नाकाबाट प्रदेश गर्नेमा दैनिक संक्रमण देखिएको छ । ती मानिसले नै संक्रमण सारिरहेका छन् ।’ उनका अनुसार भारतमा संक्रमण बढ्नुका साथै नेपालमा जनस्वास्थ्यका मापदण्ड लागू नगर्नाले संक्रमण बढेको हो । मानिसले जनस्वास्थ्यका मापदण्ड मास्क नलगाउने, भीडभाड गर्ने, साबुन पानीले हात नधुने, भौतिक दूरी कायम नगर्ने जस्ता कारणले पनि संक्रमण फैलिएको बताइन्छ । नेपालमा पनि अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा ओमिक्रोन भेरियन्ट ‘विएफाइभ’ प्रजातिको संक्रमित भेटिएको छ । उनले बिएफाइभ प्रजातिको संक्रमण फैलिने उच्च दर रहेकाले अहिले संक्रमित बढेको बताए ।

महाशाखाका निर्देशक डा दासले संक्रमित बढ्न थालेपछि अस्पताल र प्रयोगशालालाई तयारी अवस्थामा राखिएको बताए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावल गत हप्तादेखि बिरामी उपचारका लागि आउने गरेको बताउँछन् । उनका अनुसार अस्पतालमा तेस्रो लहरपछि पहिलो पटक असारमा बिरामी उपचारका लागि आएका थिए । अहिले अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ । तीमध्ये सघन उपचार कक्ष (आइसियु) मा एक र चारले क्याबिनमा उपचार गराइरहेका छन् । अस्पतालमा साउन १ गते ३८ परीक्षण गर्दा १८ मा कोरोना पोजिटिभ देखिएको थियो । उनले अहिलेका बिरामीमा ज्वरो, रुघाखोकी भए पनि गम्भीर नरहेको र अक्सिजन नचाहिएको बताए ।

धेरै पढिएको