गत आवमा १३१ वटा भ्रष्टाचार मुद्दा दायर, २ अर्ब ७८ करोड ४३ लाखभन्दा बढी बिगो दाबी
News Desk
Jul-19 , 2022 तारिख 11:46 बिहान

काठमाडौं ─ ०३ साउन २०७९

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८÷७९ मा १३१ वटा भ्रष्टाचार सम्बन्धी मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ । अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार दायर गरिएका मुद्दामा घुस (रिसवत) सम्बन्धी ३२, नक्कली शैक्षिक प्रमाण–पत्र सम्बन्धी ६, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी सम्बन्धी ३५, गैरकानूनी लाभहानी सम्बन्धी ३४, राजस्व हिनामिना सम्बन्धी ५, गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी ७ र अन्य विषयसँग सम्बन्धीत १२ वटा रहेका छन् । ‘आर्थिक वर्ष २०७८÷७९ मा दायर भएका १३१ वटा मुद्दामा प्रतिवादीको संख्या ६३९ रहेको छ, जसमध्ये विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी तीन जना, अन्य राष्ट्रसेवक कर्मचारी ३०८ जना, बिचौलिया÷मतियार लगायत अन्य १७२ जना, भूतपूर्व मन्त्री एक जना र निर्वाचित÷मनोनित पदाधिकारीहरु १५५ जना रहेका छन्,’ प्रवक्ता भण्डारीले जानकारी दिए ।

गत आर्थिक वर्ष दायर गरिएका मुद्दाका प्रतिवादीहरुसँग २ अर्ब ७८ करोड ४३ लाख ३२ हजार ७१० रुपैयाँ बिगो माग दाबी गरिएको छ । गत आर्थिक वर्ष अदालतबाट भएका १४८ फैसलामध्ये ५८ वटा (३९.१९ प्रतिशत) मुद्दामा भ्रष्टाचारजन्य कसुर कायम भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा अदालतबाट भएका मुद्दाको फैसला ११३ रहेको र भ्रष्टाचारजन्य कसुर कायम भएको मुद्दाको संख्या ८१ (७१.६८ प्रतिशत) रहेको थियो । सबैभन्दा बढी उजुरी लिखित निवेदनमार्फत
आर्थिक वर्ष २०७८÷७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार सम्बन्धी २४ हजार २४१ उजुरी परेका छन् । यीमध्ये १६ हजार १४८ नयाँ र ८ हजार ९३ वटा उजुरी अघिल्लो आर्थिक वर्ष २०७७÷७८ बाट सरेर आएका हुन् । हरेक वर्ष अख्तियारमा भ्रष्टाचार सम्बन्धी हजारौंको संख्यामा उजुरी पर्नेगर्छ ।

उजुरीको स्रोत के हो त ? अख्तियारमा कसरी उजुरी पर्छ त ? अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार अख्तियारमा सबैभन्दा बढी उजुरी लिखित निवेदनमार्फत पर्नेगर्छ । आर्थिक वर्ष २०७८÷७९ मा ४ हजार ४९५ वटा उजुरी लिखित निवेदनमार्फत परेका थिए । दोस्रो ठूलो उजुरीको स्रोत हुलाक सेवा (चिठी) हो । गत वर्ष हुलाक सेवा मार्फत अख्तियारमा भ्रष्टाचार सम्बन्धी २ हजार ७६० वटा उजुरी परेका थिए । तेस्रो ठूलो उजुरीको स्रोत हो– इमेल । इमेल मार्फत आर्थिक वर्ष २०७८÷७९ मा २ हजार ७५७ वटा उजुरी परेका छन् । प्रवक्ता भण्डारीका अनुसार गत आर्थिक वर्ष समाचारपत्रहरुबाट २९०, फेसबुकमार्फत ९३, भाइवरबाट १५, आयोगको वेबसाइटबाट २ हजार १६५, मोबाइल एसएमएसबाट ४, टेलफोनबाट ७५०, मोबाइल एपबाट १०२ र अन्य स्रोतबाट २ हजार ७१७ वटा उजुरी परेका थिए ।

धेरै पढिएको